Home Login
माल्टा

माल्टामा हिट एन्ड रनमा ज्यान गुमाएका नेपालीका लागि २४ घण्टामै १४ हजार युरो संकलन

माल्टा, २७ साउन । माल्टामा एक हिट एन्ड रन दुर्घटनामा परी ज्यान गुमाएका ४२ वर्षीय नेपाली नागरिक खिम बहादुर पुनको परिवारको सहयोगार्थ सञ्चालन गरिएको कोष सङ्कलन अभियानमा २४ घण्टा नबित्दै १४,३२६ युरोभन्दा बढी रकम जम्मा भएको छ । यो दुखद घटनाले माल्टाको नेपाली समुदाय र स्थानीय नागरिकलाई स्तब्ध बनाएको छ ।

गत आइतबार बिहान बर्किरकारास्थित साल्भु साइला स्ट्रिटमा भएको उक्त दुर्घटनामा पुनले चलाइरहेको किम्को मोटरसाइकललाई मासेराटी लेभान्टे कारले ठक्कर दिएको थियो । ठक्करपछि चालक गाडीलाई घटनास्थलमै छाडेर फरार भएका थिए । प्रहरीको अनुसन्धानपछि उक्त कार चलाउने एक १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।

प्रहरी रिपोर्टका अनुसार, तीव्र गतिमा रहेको विलासी मासेराटी कारले पुनको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भई सडक किनारमा पार्क गरिएका अन्य तीनवटा कारमा पनि ठोक्किएको थियो । गाडीमा सवार चालक सहित अन्य दुई जना पैदलै घटनास्थलबाट भागेका थिए । प्रहरीले पछि दुवै यात्रुलाई पनि पक्राउ गरेको छ ।

तीन वर्षदेखि माल्टामा फुड कुरियरको रुपमा कार्यरत पुन आफ्नो परिवारका लागि गुजारा चलाउँदै आएका थिए । उनको निधनले परिवार र आफन्तजनमा गहिरो शोक परेको छ । यो घटनासँगै माल्टामा कार्यरत आप्रवासी कामदारको सुरक्षा र सडक सुरक्षाको विषयमा गम्भीर बहस सुरु भएको छ । यो यस वर्ष माल्टामा भएको १८औं सडक दुर्घटना हो, जसले स्थानीय सडकमा थप सुरक्षा सतर्कता र कडा नियम कार्यान्वयनको माग बढाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा र स्थानीय नेपाली समुदायको पहलमा पुनको पार्थिव शरीरलाई नेपाल पठाउन र उनको परिवारलाई आर्थिक सहयोग गर्न अनलाइन कोष सङ्कलन अभियान सुरु गरिएको थियो । अभियानमा माल्टामा रहेका नेपाली, स्थानीय नागरिक र अन्य देशबाट समेत उल्लेख्य सहयोग प्राप्त भएको छ ।

एनआरएनए माल्टाका अध्यक्षले यो सहयोगले खिम बहादुर पुनप्रति देखाइएको माया र सम्मानको प्रतीक भएको बताउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् । यस घटनाले माल्टाको सडक सुरक्षा नीतिमा सुधार ल्याउन सम्बन्धित निकायलाई दबाब सिर्जना गरेको छ । पक्राउ परेका किशोरमाथि कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply