ओस्लो, नर्वे — नर्वेमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै मैदानमा उतार्ने उद्देश्यले आयोजना गरिएको “ओएनएफ टि-१० रनिङ शिल्ड क्रिकेट २०२५” प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ओस्लोस्थित Kringsjå खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा हिमालयन भाइकिङ्सलाई पराजित गर्दै जेएसएस नर्वेले यस वर्षको प्रतिष्ठित उपाधि चुम्न सफल भएको हो ।
प्रतियोगिताको शुभारम्भ बिहान ८ बजे एक औपचारिक समारोहका बीच गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसीका युरोप डीआरसी राजु अर्याल, एनआरएनए एनसीसी नर्वेका उपाध्यक्ष देव श्रेष्ठ, महासचिव पशुपतिप्रसाद भण्डारी तथा आयोजक ओएनएफ नर्वेका अध्यक्ष प्रकाश पौडेलले संयुक्त रूपमा रेफ्रीलाई ब्याट र बल हस्तान्तरण गरी नेपाली राष्ट्रिय गानका साथ खेलको उद्घाटन गर्नुभएको थियो ।
यस संस्करणको प्रतियोगितामा मगर समाज, हिमालयन भाइकिङ्स, एभरेस्ट ड्र्यागन, ओएनएफ नर्वे, जेएसएस नर्वे, एनआरएनए नर्वे, सेतो बाघ र नेपोस गरी कुल ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।
सेमिफाइनल र फाइनलसम्मको यात्रा
दिनभर चलेको लिग चरणका खेलहरू निकै प्रतिस्पर्धात्मक रहे । पहिलो खेलमा हिमालयन भाइकिङ्सले मगर समाजलाई पराजित गर्यो भने एभरेस्ट ड्र्यागनले आयोजक ओएनएफ नर्वेलाई हरायो । त्यसैगरी, उपाधि विजेता जेएसएस नर्वेले एनआरएनए नर्वेमाथि जित निकाल्यो र नेपोसले सेतो बाघलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
सेमिफाइनलको पहिलो भिडन्तमा हिमालयन भाइकिङ्सले एभरेस्ट ड्र्यागनलाई एक रोमाञ्चक खेलमा पछि पार्दै फाइनलमा प्रवेश गर्यो । दोस्रो सेमिफाइनलमा, प्रतियोगिताको सुरुदेखि नै उत्कृष्ट लयमा देखिएको जेएसएस नर्वेले नेपोसलाई सहजै हराउँदै उपाधि भिडन्तका लागि हिमालयन भाइकिङ्ससँगको भेट पक्का गर्यो ।
अन्तिम तथा फाइनल खेलमा दर्शकहरूको उत्साहजनक उपस्थितिका बीच दुवै टिमले उपाधिका लागि कडा संघर्ष गरे । यद्यपि, प्रतियोगिताको प्रमुख दाबेदार मानिएको जेएसएस नर्वेले आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिँदै हिमालयन भाइकिङ्सलाई पराजित गरी “ओएनएफ टि-१० रनिङ शिल्ड क्रिकेट २०२५” को च्याम्पियन बन्न सफल भयो ।
पुरस्कार वितरण तथा समापन
खेल समापनपश्चात् आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि एनआरएनए एनसीसी नर्वेका अध्यक्ष श्रद्दा सिंह थापाले विजेता तथा उपविजेता टोलीहरूलाई पुरस्कार प्रदान गर्नुभयो । विजेता टोली जेएसएस नर्वेले नगद ८ हजार नर्वेजियन क्रोनर, विजेता ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी, उपविजेता बनेको हिमालयन भाइकिङ्सलाई नगद ४ हजार नर्वेजियन क्रोनर र रनर-अप ट्रफी प्रदान गरियो ।
कार्यक्रम अवधिभर ओस्लो र आसपासका क्षेत्रबाट नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, समुदायका अग्रजहरू र खेलप्रेमीहरूको बाक्लो उपस्थितिले खेलाडीहरूमा थप उत्साह भरेको थियो र कार्यक्रमलाई एक उत्सवको रूप दिएको थियो ।