Home Login
खेलकुद

रोनाल्डो एएफसी च्याम्पियन्स लिग-२ खेल्न भारत जाने !

एसियाली फुटबल महासंघ (एएफसी) ले हाल तीन वटा क्लब फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ । 

एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट हो । दोस्रो श्रेणीको लिग एएफसी च्याम्पियन्स लिग-२ हो भने तेस्रो श्रेणीको लिगको नाम हो एएफसी च्यालेन्ज लिग । 

एएफसीले एसियाका देशहरूले सञ्चालन गर्ने लिगको स्तरको आधारमा तीन श्रेणीको लिगका लागि क्लबको छनोट गर्छ । 

छनोट बाहेक एलिट लिगमा २४ क्लब, च्याम्पियन्स लिग-२ मा ३२ क्लब र च्यालेन्ज लिगमा २४ क्लबले समूह चरणमा प्रतिस्पर्धा गर्छन् । तीनै लिगको समूह चरणमा पुग्नका लागि विभिन्न क्लबले प्लेअफ समेत खेल्ने भएकाले एसियाभरका सयभन्दा बढी क्लब यी लिगमा सहभागी हुन्छन् । 

यसरी एसियभरबाट सय क्लबभन्दा बढीले सहभागी जनाउने यी तिनै तहको लिगमा नेपालका क्लबको यो सिजन सहभागिता छैन । नेपालको घरेलु लिग समयमै हुन नसक्दा अखिल नेपाल फुटबल संघले कुनै पनि क्लबको प्रतिनिधित्व गराउन नसकेको हो ।

यसैबीच एएफसीले शुक्रबार एएफसी च्याम्पियन्स लिग-२ का लागि ३२ क्लबलाई आठ समूहमा विभाजन गरेको छ। सबै समूहमा चार चार वटा क्लब छन् । 

जसमा नेपाली फुटबल प्रेमीलाई चासो लाग्ने समूह बनेको छ- समूह ‘डी’ । यो समूहमा साउदी अरेबियाको नौ पटकको प्रो लिग विजेता अल नासरसहित भारतको एफसी गोआ, इराकको अल ज्वारा एससी र ताजिकिस्तानको एफसी इस्तिकलोल छन् । 

यी क्लबहरुबीच समूह चरणमा होम एन्ड अवे खेल हुनेछन् । जुन खेलहरु सेप्टेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछन्। तर म्याच डे खेल तालिका भने सार्वजनिक भइसकेको छैन ।

अल नासरमा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेल्न थालेको चार वर्ष हुन लागिसकेको छ । रोनाल्डोले यो सिजन क्लबसँगको सम्झौता थप गरेका थिए । त्यसैले रोनाल्डो एफसी गोआविरूद्धको खेलका लागि भारत आउने सम्भावना छ । फिट रहेमा उनी भारत आउनेमा धेरै फुटबलप्रेमीको आसा छ ।

Leave a Reply