Home Login
प्रवास

कुवेतमा विषाक्त रक्सी सेवनबाट ६ नेपालीले गुमाए ज्यान, २१ जनाको दृष्टि गुम्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीले ज्यान गुमाएका छन् । मेथानोल मिसाइएको मदिरा सेवनका कारण उनीहरुको ज्यान गएको कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

ज्यान गुमाउनेमा ६ नेपालीमध्ये ५ पुरुषसहित एक महिला रहेका छन् । सो घटनामा ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि हालसम्म ६३ जना बिरामीहरूलाई विषाक्त मदिरा सेवनसँग सम्बन्धित अवस्थामा अस्पतालमा उपचार गरिएको छ ।

मन्त्रालयले कुवेत विष नियन्त्रण केन्द्र, सुरक्षा निकायहरू तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वयमा काम भइरहेको जनाएको छ । बिरामीहरूमा विभिन्न लक्षणहरू देखिएको छ । ३१ जनालाई मेकानिकल भेन्टिलेसन आवश्यक पर्‍यो भने ५१ जनाको आकस्मिक डायलासिस गरिएको छ । २१ जनाले स्थायी रूपमा दृष्टि गुमाएका छन् वा गम्भीर दृष्टि क्षतिबाट पीडित भएका ग्लफ न्युजले जनाएको छ ।

अधिकारीहरूले मदिराको स्रोत पत्ता लगाउने र यसको वितरणमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान सुरु गरेका छन् । उनीहरूले अवैध र अनियमित मदिरा सेवनको खतराको बारेमा जनतालाई चेतावनी दिएका छन्।

स्वास्थ्य मन्त्रालयले यदि कसैलाई मेथानोल विषाक्तताको शंका लागेमा नजिकको अस्पताल वा निर्धारित हटलाइनहरूमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।

कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।

Leave a Reply