Home Login
साईप्रस

साइप्रसमा डिबिआर नेपाली समाजद्वारा तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना

लार्नाका, साइप्रस —  हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज २०८२ को अवसरमा साइप्रसवासी नेपालीहरूले भव्यताका साथ तिज मनाउने भएका छन् । डिबिआर (DBR) नेपाली समाज साइप्रसको आयोजनामा आउँदो २४ अगस्ट २०२५, आइतवारका दिन लार्नाका स्थित मोमेन्ट्स हलमा ‘हरितालिका तिज विशेष साँस्कृतिक कार्यक्रम २०२५’ आयोजना हुने भएको हो ।

विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमले साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै छानामुनि भेला गराई तिजको शुभकामना आदानप्रदान गर्ने र सामूहिक रूपमा दर खाने अवसर प्रदान गर्नेछ । कार्यक्रम बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा साइप्रसमै स्थापित स्थानीय नेपाली कलाकारहरूको विविध साँस्कृतिक प्रस्तुति रहनेछ । नेपाली कला र संस्कृतिलाई प्रवर्धन गर्ने हेतुले आयोजना गरिएको यस कार्यक्रममा कलाकारहरूले तिजका विशेष गीतहरूमा गायन तथा नृत्य प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा आफ्नो प्रस्तुति दिने कलाकारहरूमा गायिका कुन्ता बराल, सुनिता क्षेत्री र सूर्यमाया मोक्तानको सुमधुर स्वर रहनेछ भने गायक समर क्षेत्रीले पनि आफ्नो गायकी प्रस्तुत गर्नेछन् । यसैगरी, प्रविना डोंगी, विशाल मगर, रसु श्रेष्ठ, आरती महतो र सुदिख्या श्रेष्ठले मनमोहक नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । अनुभवी डिजेको साथमा नेपाली तिज गीतहरूमा निरन्तर नाचगानको व्यवस्थाले कार्यक्रम थप उल्लासमय बन्ने अपेक्षा गरिएको छ ।


तिजको दरलाई विशेष महत्व दिँदै आयोजकले सहभागी हरूका लागि २० युरोको टिकटमा स्वादिष्ट ‘हरितालिका तीज मेनु’ को व्यवस्था गरेको छ ।

सार्वजनिक मेनु अनुसार दरमा हरियो सलाद, नेपाली शैलीको फ्राइड चिकन, तीज विशेष पुलाउ, ग्रेभी सहितको मटन करी, तरकारी करी, पिरो अचार र तीजको विशेष परिकार खिर समावेश गरिएको छ । यी परिकारहरूले घरदेशको तिजको मौलिक स्वादलाई प्रवासमा समेत महसुस गराउने विश्वास आयोजकको छ ।

साइप्रसका विभिन्न सहरहरूमा छरिएर रहेका नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले सबै प्रमुख सहरहरूबाट कार्यक्रम स्थलसम्म आउनका लागि बसको समेत व्यवस्था गरिएको डिबिआर नेपाली समाज साइप्रसले जानकारी दिएको छ । यसले गर्दा टाढा-टाढा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई पनि कार्यक्रममा उपस्थित हुन सहज हुनेछ ।

आयोजक डिबिआर नेपाली समाज साइप्रसले एक सूचना जारी गर्दै साइप्रसवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस विशेष कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन र सामूहिक रूपमा तिज पर्व मनाउन हार्दिक निमन्त्रणा गरेको छ । यस कार्यक्रमले आपसी भाइचारा, सद्भाव र नेपाली संस्कृतिलाई विदेशमा समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply