माल्टा (भ्यालेटा) — भूमध्यसागरीय देश माल्टामा पर्यटकहरूको अनुचित पोशाकले स्थानीयहरूलाई समस्यामा पारेपछि सरकारले कडा नियम ल्याएको छ ।
समुद्री किनारबाट सहरका मुख्य क्षेत्रहरूमा बिकिनी र अर्धनग्न अवस्थामा हिँड्ने पर्यटकहरूको बढ्दो प्रवृत्तिले स्थानीय संस्कृति र मर्यादामाथि प्रश्न खडा गरेको थियो । माल्टाका विभिन्न समुद्री तटहरूमा अब “बिच मोड अफ! ड्रेस स्मार्ट एण्ड रिस्पेक्टफुल क्लोदिङ” भन्ने चेतावनी बोर्डहरू राखिएको छ । यी बोर्डहरूमा बिकिनी र छोटो कपडाहरूलाई रातो चिन्हले निषेध गरिएको छ भने उचित पोशाकलाई हरियो चिन्हले स्वीकृति दिइएको छ ।
स्थानीय सरकारका अनुसार धेरै पर्यटकहरूले समुद्री किनारको पोशाकमा नै रेस्टुराँ, पसल र धार्मिक स्थलहरूमा जाने गरेका थिए । यसले स्थानीयहरूको धार्मिक भावना र सांस्कृतिक मूल्यमान्यतामा चोट पुर्याएको थियो ।
माल्टाको पर्यटन मन्त्रालयले भनेको छ कि यो नियम पर्यटकहरूलाई रोक्नको लागि नभएर उनीहरूलाई स्थानीय संस्कृतिको सम्मान गर्न प्रोत्साहन दिनको लागि हो ।
“हामी पर्यटकहरूलाई स्वागत गर्छौं तर उनीहरूले हाम्रो संस्कृति र परम्पराको सम्मान गरेर आउनुपर्छ, “पर्यटन मन्त्रालयका प्रवक्ताले भने । माल्टामा प्रतिवर्ष लाखौं पर्यटकहरू आउने गर्छन् । यो नियम लागू भएपछि पर्यटकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् र स्थानीयहरू पनि खुसी देखिएका छन् ।