Home Login
पोर्चुगल

ठकुरी समाज पोर्चुगलद्वारा भव्य तीज कार्यक्रम सम्पन्न

पोर्चुगल (लिस्बन) ।  नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले गत अगस्ट १७ तारिख, आइतबारका दिन लिस्बनको अल्मेडास्थित महात्मा गान्धी राधा कृष्ण मन्दिरको हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँसँगै नेपाली दूतावास लिस्बनका नियोग उपप्रमुख रामबाबु नेपालको पनि विशेष उपस्थिति रहेको थियो । त्यस्तै विशिष्ट अतिथिमा लिस्बनका लागि पूर्व अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर हमाल रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति र चाडपर्वलाई सम्झिएर यस्ता कार्यक्रम आयोजना गर्नु निकै सराहनीय भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता र भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बेलुकी ४ बजेदेखि सुरु भई राति १० बजेसम्म चलेको उक्त कार्यक्रममा पोर्चुगलमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी तथा पोर्चुगलमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नेपालकी चर्चित तथा लोकप्रिय गायिका रचना रिमाल रहनुभएको थियो । आफ्नो सुमधुर स्वरले दर्शकलाई मन्त्रमुग्ध बनाउँदै उहाँले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा उपस्थित सबैजना झुमेका थिए ।

यस्तै, कार्यक्रममा स्थानीय कलाकारहरू गायिका गीता रेउले, गायिका सरिता कुँवर, गायक सागर शाह तथा गायक फणीन्द्र ठकुरीले पनि आ-आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । आयोजक ठकुरी समाज पोर्चुगलले कार्यक्रममा हरितालिका तीजको मौलिकतालाई झल्काउने गरी दर खाने कार्यक्रमका साथै विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको जनाएको छ ।

(माथि उक्त देखाएको ब्यानरमा अङ्ग्रेजीमा पोर्चुगल हुनुपर्नेमा, (Protugal) भएको रहेछ उक्त गल्तीलाई अर्को कार्यक्रममा सच्याउने प्राविधिकले बताउनुभएको छ।)

विदेशको व्यस्त जीवनशैलीका बाबजुद पनि आफ्नो पर्वलाई हर्षोल्लासका साथ मनाउन पाउँदा उपस्थित दिदीबहिनीहरू निकै उत्साहित देखिन्थे । कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृतिसँग जोड्दै आपसी भेटघाट र शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो । आयोजक ठकुरी समाज पोर्चुगलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रमका तस्बिरहरू : 

 

Leave a Reply