कोष्टाव्लाङ्का, स्पेन । नेपाललाई लोडसेडिङको अँध्यारो युगबाट मुक्त गराई उज्यालो नेपालको अभियन्ताका रूपमा परिचित नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ स्पेनको कोष्टाव्लाङ्कामा सम्मानित हुनुहुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काको संयुक्त आयोजनामा उहाँको सम्मानमा एक विशेष कार्यक्रम आयोजना गरिने भएको हो ।
आगामी २२ अगष्ट २०२५, शुक्रबारका दिन सेन्ट्रो सोसल आल्तियामा ‘उज्यालो संवाद तथा सम्मान कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा घिसिङ सहभागी हुनुहुनेछ । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोजकले बताएको छ । आयोजकहरूका अनुसार, कार्यक्रममा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्न गरेका संघर्ष, चुनौती र सफलताका अनुभवहरू सुनाउनुहुनेछ । साथै, उपस्थित सहभागीहरूले उहाँसँग प्रत्यक्ष संवाद र जिज्ञासा राख्ने अवसर समेत पाउनेछन् ।
नेपालमा रहँदा आम नागरिकको मन जित्न सफल घिसिङको राष्ट्रिय योगदानको कदर गर्दै प्रवासमा रहेका नेपालीहरूले उहाँलाई सम्मान गर्न लागेका हुन् । विदेशमा रहेर पनि आफ्नो मातृभूमिका लागि योगदान दिने व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्ने र उनीहरूका अनुभवबाट प्रेरणा लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले जनाएका छन् ।
आयोजकले एक संयुक्त सूचना जारी गर्दै भनेको छ, “उहाँका संघर्ष र सफलताका कथा सँगै बसेर सुन्न र आफ्ना जिज्ञासाहरु राख्न यो एक सुनौलो अवसर हो ।” कोष्टाव्लाङ्का तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्यताका साथ सफल बनाइदिन हार्दिक अनुरोध गरिएको छ ।
यो कार्यक्रमले स्पेनमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला हुने, आपसी सद्भाव बढाउने र राष्ट्रिय गौरवका व्यक्तित्वसँग साक्षात्कार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।