पोर्चुगल (लिस्बन) । पोर्चुगलमा नेपाली समुदायको हकहित र सामाजिक कार्यमा सक्रिय रहँदै आएको नवलपुर समाज पोर्चुगलले एक विशेष कार्यक्रमको आयोजना गरी यहाँ क्रियाशील नेपाली पत्रकारहरूलाई सम्मान गरेको छ । बुधबार, अगस्ट २० तारिखका दिन राजधानी लिस्बनस्थित मण्डला हाउस रेस्टुरेन्ट र बारमा आयोजित एक औपचारिक कार्यक्रममा पत्रकारहरूलाई उनीहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सम्मानित हुने पत्रकारहरूमा नमुना नेपाल डट कमका सम्पादक कलश खरेल, युरोपाटी डट कमका सम्पादक पुस्तक रेग्मी र आँखीझ्याल डट कमका सम्पादक नवराज दुवाडी रहनुभएको छ । सम्मानित तीन पत्रकारमध्ये खरेल र रेग्मी कार्यक्रममा उपस्थित भएर सम्मान ग्रहण गर्नुभएको थियो भने सम्पादक दुवाडी आफ्नो कार्य व्यस्तताका कारण उपस्थित हुन सक्नुभएन ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका महासचिव अनन्त तिवारीले पत्रकारिता समाजको ऐना भएको बताउँदै पोर्चुगलमा रहेका पत्रकारहरू अझै सक्रिय भई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरूले सधैँ सत्यको पक्षमा आफ्नो कलम चलाउनुपर्छ । समुदायमा भएका राम्रा कामको प्रशंसा र गलत प्रवृत्तिको आलोचना गरेर समाजलाई सही बाटो देखाउने जिम्मेवारी पत्रकारको काँधमा छ ।” त्यस्तै पोर्चुगलमा रहेका सम्पूर्ण पत्रकारहरुलाई समेटेर पत्रकारहरूको सम्मानको लागि एउटा कार्यक्रम गर्ने महासचिव तिवारीले वाचा गर्नुभएको छ ।
सम्मान ग्रहणपश्चात् बोल्दै युरोपाटी डट कमका सम्पादक पुस्तक रेग्मीले नवलपुर समाज पोर्चुगलले पत्रकारको कामको मूल्याङ्कन गरी सम्मान गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो सम्मानले हामीलाई थप हौसला र ऊर्जा प्रदान गर्दछ । पोर्चुगलमा हामीलाई आवश्यकता पर्दा मात्र सम्झिने तर अन्य समयमा बेवास्ता गर्ने प्रवृत्ति छ । नवलपुर समाजले यो परम्परा तोडेको छ ।” उहाँले पोर्चुगलमा रहेका अन्य संघसंस्थाहरूले पनि पत्रकारिता क्षेत्रको भूमिका र महत्त्वलाई बुझेर यस्तै सम्मान र प्रोत्साहनका कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, नमुना नेपाल डट कमका सम्पादक कलश खरेलले पनि नवलपुर समाज पोर्चुगलले पत्रकारलाई गरेको सम्मान निकै प्रशंसनीय र उत्कृष्ट कार्य भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले संघसंस्था र सञ्चारकर्मीबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै अन्य संस्थाहरूका लागि पनि यो एक अनुकरणीय कार्य भएको धारणा राख्नुभयो ।
वास्तवमा, यो सम्मान कार्यक्रम गत जुलाई ८ तारिख, मंगलबार आयोजना गरिएको ‘सांगितिक साँझ तथा कलाकार सम्मान’ कार्यक्रमकै हिस्सा थियो । उक्त दिन आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको विशेष प्रस्तुति रहेको कार्यक्रम लिस्बनस्थित लव-लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको थियो । सोही दिन पत्रकारहरूलाई सम्मान गर्ने योजना भएता पनि पत्रकारहरूको कार्य व्यस्तता र कार्यक्रम लामो समयसम्म चलेकाले सम्भव हुन सकेको थिएन । सोही योजनालाई मूर्त रूप दिन समाजले बुधबार छुट्टै कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम बुढापृती, महासचिव अनन्त तिवारी, सचिव नरेश न्यौपाने लगायत कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले पोर्चुगलमा नेपाली समुदायका संघसंस्था र सञ्चारकर्मीबीच सहकार्य र आपसी सम्मानको वातावरणलाई थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।कार्यक्रमको सञ्चालक संस्थाका महासचिव अनन्त तिवारीले गर्नुभएको थियो ।