पोर्चुगल (लिस्बन) । नेपालमा लोडसेडिङको अन्त्य गरी ‘उज्यालो नेपाल’को परिकल्पनालाई साकार पार्ने नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पोर्चुगल आइपुग्नुभएको छ । नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने एक विशेष कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।
शुक्रबार स्पेनको कोष्टाव्लाङ्कामा रहेको कार्यक्रम सकेर पोर्चुगलको राजधानी लिस्बन आइपुग्नुभएका घिसिङलाई लिस्बन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाली जनसमुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । हातमा फूलका गुच्छा र नेपालको राष्ट्रिय झण्डा बोकेर विमानस्थल पुगेका नेपालीहरूले घिसिङको स्वागतमा नाराबाजी समेत गरेका थिए, जसले समग्र वातावरणलाई उत्साहपूर्ण बनाएको थियो ।
नेपालमा विद्युत आपूर्तिलाई नियमित गरी नेपाली जनताको दैनिक जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याएका कारण घिसिङलाई अन्तर्राष्ट्रिय रुपमा पनि उच्च सम्मानका साथ हेरिन्छ । यसै क्रममा उहाँलाई पोर्चुगलमा रहेका नेपाली समुदायले पनि आफूहरूको बीचमा पाउन पाउँदा खुसी व्यक्त गरेका छन् ।
आयोजकका अनुसार, घिसिङको उपस्थिति रहेको उक्त कार्यक्रम लिस्बनको प्रतिष्ठित Hotel HF Fenix मा हुनेछ। कार्यक्रमको लागि तोकिएको ठेगाना Pç do Marquês de Pombal 8, 1269-133 Lisboa रहेको छ । कार्यक्रम आयोजकले दिएको जानकारीअनुसार, कार्यक्रम ठिक १२ बजे सुरु हुनेछ, जहाँ घिसिङले नेपाली समुदायका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुका साथै आफ्नो अनुभव र विचारहरू पनि राख्नेछन् ।
कुलमान घिसिङको यो पोर्चुगल भ्रमणले यहाँको नेपाली समुदायमा थप उत्साह र प्रेरणा जगाउने अपेक्षा गरिएको छ ।
तस्बिरहरू :