Home Login
संघ-संस्था

तिज विशेष कार्यक्रमका लागि लोकदोहोरी गायक शिरीष देवकोटा पोर्चुगलमा

पोर्चुगल — नेपालका चर्चित लोकदोहोरी गायक शिरीष देवकोटा पोर्चुगलको राजधानी लिस्बनमा आइपुग्नुभएको छ । उहाँ नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा आयोजित तीज विशेष कार्यक्रममा सहभागिता जनाउन युरोप भ्रमणको क्रममा पोर्चुगल आउनुभएको हो ।

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले हरेक वर्ष  कार्यक्रम गर्दै आएको छ । यस वर्षको कार्यक्रमलाई अझ आकर्षक र प्रभावशाली बनाउन नेपालकै लोकप्रिय लोकदोहोरी गायक देवकोटाको आगमनले विशेष रौनकता थप्ने संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, “तीज केवल नारीहरूको पर्व मात्र नभई परिवार र समुदायलाई एक ठाउँमा जोड्ने मौलिक चाड हो । यसलाई परदेशमा पनि निरन्तरता दिन पाउनु हाम्रो लागि गौरवको कुरा हो ।”

आगामी अगस्ट २४ तारिख आइतवार लिस्बनको मार्तिम मुनिज पार्कमा आयोजना हुने यस कार्यक्रममा गायक देवकोटासँगै अन्य ख्यातिप्राप्त कलाकारहरूले समेत आफ्नो प्रस्तुति दिनेछन् ।

यसैगरी, कार्यक्रमलाई अझ जीवंत बनाउन स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, नृत्य  र सांस्कृतिक झलकहरू पनि प्रस्तुत गरिने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले जनाएको छ । तीज पर्वलाई परदेशमा समेत भव्यतापूर्वक मनाउनका लागि यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले सम्पूर्ण पोर्चुगलमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, परिवार तथा मित्रजनलाई कार्यक्रममा उपस्थित भई तीजको उल्लासपूर्ण वातावरणलाई अझ विशेष बनाउन निमन्त्रण समेत गरेको छ ।

Leave a Reply