लन्डन । आइतबार लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलामा भूतपूर्व गोर्खा सैनिक तथा परिवार लगायत झन्डै १३ हजार नेपालीले भाग लिएका छन्।
उक्त मेलालाई सम्बोधन गर्दै सामाजिक अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफुले शुरु गरेको उज्यालो नेपाल अभियानलाई साथ दिन आग्रह गरे ।
घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताए। उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह गरेपछि मेलामा उपस्थित हजारौं जनसमुदायले हात उठाउँदै उक्त अभियानमा आफ्नो साथ र समर्थन रहेको जनाएका थिए। ।
घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए। उनले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए।
उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडी बढ्न नसक्ने निर्क्यौलमा आफु पुगेको बताए। उनले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आह्वान गरे ।
खाडी मुलुकहरु साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरुको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहेता पनि दश वर्ष सम्म कानून बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । “अब थप ढीला नगरिकन यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,” उनले भने।
घिसिङले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउंदै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे। “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मर्म अनुरुप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए।
मेलाका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले सन् २००९ देखि शुरु मेलाले नेपालीको मन, मुटु र नेपालको सांस्कृतिक विविधता यूके ल्याएको बताए । ‘नेपालीहरु जहां जान्छन्, आफू संगै नेपाल लिएर जान्छन् भन्ने प्रमाण यो हो’, उनले भने, ‘बेलायतको यो भूमिमा नेपाललाई विविध र ऐतिहासिक रुपमा प्रस्तुत गरेर तमुधिं यूकेले इतिहास रचेको छ ।’ नेपालले अहिले आर्थिक उन्नततिको एजेण्डामा काम गरिरहेको बताउंदै राजदूत घिमिरेले बेलायत बस्ने प्रत्येक नेपालीलाई कम्तीमा तीनजना बेलायतीलाई नेपाल लैजान पहल गर्न पनि उनले आग्रह गरे ।
नेपालको समुन्नतिमा बेलायतका नेपालीको उल्लेख्य योगदान रहेको भन्दै उनले दोश्रो पुस्तालाई पनि नेपालसंग जोड्न अनुरोध गरे । उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताए। उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे।
तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव डा बिशाल गुरुङले गरेका थिए।
उक्त मेलामा ४४ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने झन्डै ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए।
मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट भएर पासा पुचः गुथि यूके प्रथम बन्दै ११०० पाउण्डसहित एम्बासडर कप जित्यो भने किरात याक्थुङ चुम्लुङ यूके दोश्रो र किरात राई यायोख्या यूके तृतीय बने ।