राजकोट — श्री नेपाली सेवा समाज केन्द्रीय कार्यालय, राजकोटले यस वर्ष पनि दिदीबहिनीहरूको लागि हरितालिका तीज कार्यक्रम भव्यताका साथ आयोजना गर्ने घोषणा गरेको छ । समाजले आफ्नो वार्षिक परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक एकता र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यस विशेष कार्यक्रममा राजकोट र आसपासमा रहेका सम्पूर्ण नेपाली समुदायका सदस्यहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रमले परदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।
यस वर्षको तीज कार्यक्रमलाई थप स्मरणीय बनाउन नेपालका चर्चित कलाकारहरूको एक विशेष टोलीलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा चर्चित डान्सर गंगा बोहराले आफ्नो मनमोहक नृत्य प्रस्तुत गर्नेछिन् भने बहुप्रतिभाशाली कलाकार, चर्चित डान्सर तथा गायक गोपाल नेपाल (जीएम) ले गायन र नृत्यको दोहोरो प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
त्यसैगरी, आफ्ना जीवन्त लोकदोहोरी गीतहरूबाट लाखौं श्रोताको मन जितेकी चर्चित लोकदोहोरी गायिका रमिला न्यौपानेले कार्यक्रममा आफ्नो सुमधुर आवाजको जादु छर्नेछिन् । उहाँका साथमा उदीयमान डान्सरद्वय अभिषेक खड्का र यमुना भण्डारीले पनि आफ्नो उत्कृष्ट नृत्य कला प्रदर्शन गर्नेछन् । कलाकारहरूको यो बेजोड प्रस्तुतिले कार्यक्रममा उपस्थित सबैलाई तीजको दरमा झुम्न बाध्य बनाउने अपेक्षा गरिएको छ ।
श्री नेपाली सेवा समाजले सम्पूर्ण समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सक्रिय रूपमा सहभागी भई तीजको शुभकामना आदानप्रदान गर्न र कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरेको छ ।
कार्यक्रम अगस्ट २६ तारिख मंगलबार, बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुने आयोजकले बताएको छ ।