नेपाल विश्वकपमा

काठमाडौं । नेपाल १० वर्ष पछि टी – २० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्सलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी – २० विश्वकपमा छनोट भएको हो ।

यस अघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी – २० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए ।

त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १ – १ विकेट लिए ।

काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।

नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी – २० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् ।

आईसीसी मेन्स टी – २० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइ सकेका छन् । २०२२ को टी – २० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइ सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *