Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलस्थित नेपाली दूतावासद्वारा लेख/रचना पठाउन आह्वान

पोर्चुगल (लिस्बन) —  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रमको आयोजना गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी लेख/रचना आह्वान गरेको छ ।

यो पहलले पोर्चुगलमा रहेका नेपालीहरूको बौद्धिक तथा सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउनुका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिकालाई थप उजागर गर्ने उद्देश्य राखेको छ ।

दूतावासले जारी गरेको सूचनाअनुसार, पोर्चुगलमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूले विभिन्न समसामयिक र महत्वपूर्ण विषयहरूमा केन्द्रित भई आफ्ना लेख/रचना पठाउन सक्नेछन् । “नेपाली डायस्पोराको आर्थिक तथा सामाजिक अवस्थादेखि नेपालमा लगानीका सम्भावनासम्मका विषयमा गहन विचार र विश्लेषणसहितका लेखरचनालाई प्रोत्साहन गरिनेछ,” दूतावासका एक प्रतिनिधिले बताए ।

लेख/रचनाका विषयहरू

सहभागीहरूले निम्न विषयवस्तुहरूमा आधारित भएर आफ्ना सिर्जनाहरू तयार पार्नुपर्ने भएको हो ।

– पोर्चुगलमा नेपाली डायस्पोराको आर्थिक र सामाजिक स्थिति
– नेपालमा आर्थिक लगानी गर्न सक्ने सम्भावनाका क्षेत्र र क्षमता
– पोर्चुगल भित्र नेपाली उत्पादनको बजार प्रबन्धको अवस्था र अवसर
– पर्यटन र सांस्कृतिक सम्बन्धी बिस्तारमा खेल्न सक्ने भूमिका

लेख/रचना नेपाली भाषामा लेखिएको हुनुपर्नेछ र अधिकतम शब्द सीमा २ हजार  तोकिएको छ । इच्छुक सहभागीहरूले आफ्नो रचना आगामी १५ सेप्टेम्बर २०२५ भित्र दूतावासको कार्यालयमा वा इमेल (eonlisbon@gmail.com) मार्फत पठाइसक्नु पर्नेछ ।

दूतावासले प्राप्त भएका लेख/रचनाहरूमध्येबाट उत्कृष्टलाई पुरस्कृत गर्ने तथा प्रशंसा पत्रले सम्मान गर्ने जनाएको छ । यस कार्यक्रमले पोर्चुगलमा रहेको नेपाली समुदायको बौद्धिक क्षमतालाई सम्मान गर्नुका साथै उनीहरूका विचार र अनुभवलाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो कार्यक्रमले पोर्चुगलमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमिप्रतिको सम्बन्धलाई थप नवीकरण गर्न र नेपालको आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउन प्रेरित गर्ने विश्वास लिइएको छ ।

Leave a Reply