पोर्चुगल — लिस्बनको मुटुमा रहेको ऐतिहासिक एलेभाडोर दा ग्लोरिया फनिकुलरमा बुधबार साँझ भएको एक विनाशकारी दुर्घटनामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन् । सहरको एक प्रमुख पर्यटकीय आकर्षण मानिने यो फनिकुलरको केबल चुँडिएपछि अनियन्त्रित भई तल खसेर एउटा भवनमा ठोक्किएको थियो ।
स्थानीय समयअनुसार साँझ करिब ६ बजे, रेस्टोरेदोरस स्क्वायरबाट प्रिन्सिपे रियलतर्फ उक्लिरहेको फनिकुलरको मुख्य केबल अचानक चुँडिएको थियो । त्यसपछि गाडी तीव्र गतिमा पछाडि सर्दै तलको सडकमा रहेको एउटा भवनमा गएर ठोक्कियो । प्रत्यक्षदर्शीहरूका अनुसार, ठूलो आवाजसहित गाडी तल खस्दा वरपरको वातावरणमा कोलाहल र भागदौड मच्चिएको थियो ।
दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। घाइते भएका १८ देखि २० जनामध्ये ५ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ । घाइतेहरूलाई तत्काल साओ जोसे र सान्ता मारिया अस्पतालमा भर्ना गरिएको छ ।
घटनाको खबर पाउनासाथ २२ वटा आपतकालीन सवारी साधन र ६२ जना उद्धारकर्मीसहितको टोली घटनास्थलमा पुगेको थियो। दमकल, प्रहरी र राष्ट्रिय स्वास्थ्य सेवा (INEM) का टोलीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए । फनिकुलरको पुरानो र जटिल संरचनाका कारण घाइतेहरूलाई बाहिर निकाल्न कठिनाइ भएको उद्धारकर्मीहरूले बताएका छन् ।
दुर्घटनाको गम्भीरतालाई ध्यानमा राख्दै राष्ट्रपति मार्सेलो रेबेलो डे सुजा, प्रधानमन्त्री लुइस मोन्टेनेग्रो, र लिस्बनका मेयर कार्लोस मोएडास तुरुन्तै घटनास्थलमा पुगेका थिए । उनीहरूले उद्धार कार्यको निरीक्षण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री मोन्टेनेग्रोले घटनाको निष्पक्ष र विस्तृत छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने घोषणा गर्नुभएको छ । “यो लिस्बनका लागि एक कालो दिन हो । हामी दुर्घटनाको कारण पत्ता लगाएरै छाड्नेछौँ र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनेछौँ,” उहाँले भन्नुभयो ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पोर्चुगललाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
लिस्बन नगरपालिकाले दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्मानमा तीन दिनको आधिकारिक शोकको घोषणा गरेको छ । यो दुर्घटनालाई लिस्बनको सार्वजनिक यातायातको इतिहासमा दशकौँ यताकै सबैभन्दा दुःखद घटनाको रूपमा हेरिएको छ । सन् १८८५ मा सञ्चालनमा आएको एलेभाडोर दा ग्लोरिया लिस्बनको सांस्कृतिक पहिचानको एक महत्त्वपूर्ण हिस्सा रहँदै आएको थियो ।