बिशाल पाण्डेय ।
पोर्चुगल — यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा पोर्चुगलको मारिना दास ओन्दासमा दीप प्रज्वलन गरिएको छ । नेपाली समाज मारिना दास ओन्दसको आयोजनमा शनिवार राति जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् ।
दिप प्रज्वलन कार्यक्रममा नेपाली समाजका अध्यक्ष राधे गिरिले जेनजीको प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । साथै सभामा जुन्ता दे फ्रेगुइसिया दे मारिना दास ओन्दासका अध्यक्ष जौ फर्नान्सिस्कोले समेत मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जेनजि पुस्ताका युवा राज आचार्य लगायतका अन्य जेनजी युवाहरुद्बारा दिप प्रज्वलन गरि सुरु गरिएको कार्यक्रममा गुरुङ समाजका अध्यक्ष विशाल गुरुङ तथा यहाँ बस्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । साथै नेपालीहरुको स्थानिय A2G ब्याण्डले मृतकको सम्झनामा रातो र चन्द्र सुर्य, सम्बोधन तिमिलाइ गर्दै छु म लगायतका राष्ट्रप्रेमि गीत समेत गायका थिए ।
त्यस्तै आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ´जेनजी’ले गरेको प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको सख्या ७२ पुगेको जानकारी गराएका छन् । अर्यालले मृतक सबैलाई सहिद घोषणा र उनीहरूका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरिएको जानकारी दिएका छ्न ।