पोर्चुगल (लिस्बन) — पोर्चुगलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि खुसीको खबर छ । लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरणका लागि अनलाइन आवेदन खुला गरेको छ । दूतावासले एक सूचना जारी गर्दै आगामी अक्टोबर महिनाका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।
सूचनाअनुसार, आगामी ०६ अक्टोबरदेखि १७ अक्टोबर, २०२५ सम्मको अवधिका लागि राहदानी आवेदन फाराम आज (शुक्रबार) दिउँसो ५ बजेदेखि खुला गरिएको छ । राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम अवधि बाँकी रहेका आवेदकहरूले यो अवसरको फाइदा लिन सक्नेछन् ।
दूतावासले तोकेको प्रक्रिया अनुसार, आवेदकहरूले सबैभन्दा पहिले नेपाल सरकार, राहदानी विभागको आधिकारिक वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गएर अनलाइन फाराम भर्नुपर्नेछ । फाराम भरिसकेपछि प्राप्त हुने मिति र समयमा बायोमेट्रिक्सका लागि दूतावासको कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ । बायोमेट्रिक्सका लागि आउँदा पेश गर्नुपर्ने कागजातहरू :
वयस्कहरूको हकमा :
– अनिवार्य रूपमा अनलाइन भरेको राहदानी –फारामको प्रिन्ट-आउट ।
– सक्कल नेपाली राहदानी र त्यसको प्रतिलिपि । – सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि ।
नाबालकहरूको हकमा :
– नाबालक परिचय पत्र ।
– जन्मदर्ता प्रमाणपत्र ।
– बुबा तथा आमाको नागरिकता प्रमाणपत्र र राहदानी । – आमाबुबाको विवाह दर्ता प्रमाणपत्र ।
आवेदकहरूले आफूलाई पायक पर्ने मिति र समय छानेर सोही समयमा दूतावासको कार्यालय, Rua Pero de Alenquer 29, 1400-293, Lisboa मा सम्पूर्ण आवश्यक कागजातसहित उपस्थित हुन सूचित गरिएको छ ।
त्यस्तै, यसपटक आवेदन दिन नभ्याउने वा समय नपाउनेहरूका लागि दूतावासले अर्को पटक राहदानी नवीकरणको अपोइन्टमेन्ट खुला गर्ने मिति पनि तोकेको छ । सूचनाअनुसार, अर्को पटक यही आउँदो २६ सेप्टेम्बर २०२५ का दिन दिउँसोको ५ बजे पुनः अपोइन्टमेन्ट खुला गरिनेछ ।
राहदानी आवेदनसम्बन्धी थप तथा विस्तृत जानकारीका लागि दूतावासको आधिकारिक वेबसाइट https://pt.nepalembassy.gov.np/pages/passport-service-4/ हेर्न सकिने दूतावासले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीहरूलाई समयमै आफ्नो राहदानी नवीकरण गर्न र आवश्यक प्रक्रिया पूरा गर्न दूतावासले अनुरोध गरेको छ ।