पोर्चुगल — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’ को दोस्रो श्रृंखला ‘जारी २’ को प्रदर्शन मिति स्थगित भएको छ । नेपालको वर्तमान विषम परिस्थितिका कारण चलचित्रको प्रदर्शन रोकिएसँगै यसको प्रभाव अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि परेको छ ।
नेपालमा आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको प्रदर्शन अनिश्चित कालका लागि रोकिएको हो । यसैको परिणामस्वरूप, पोर्चुगलमा हुन लागेको विशेष प्रदर्शन पनि स्थगित गरिएको आयोजकले जनाएको छ ।
पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र आगामी सेप्टेम्बर २८ देखि प्रदर्शनमा आउने तालिका थियो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा चलचित्रलाई प्रदर्शनमा ल्याउने तयारी गरेका थिए । यसका लागि राजधानी लिस्बनको प्रतिष्ठित ‘सिनेमा आइडल’ मा चलचित्रको चार विशेष शो आयोजना हुने पक्का भइसकेको थियो ।
आयोजकले एक सूचना जारी गर्दै नेपालकै प्रदर्शन मिति सरेकाले पोर्चुगलको शो पनि स्थगित गर्नुपरेको जानकारी दिएका छन् । उनीहरूले भनेका छन्, “नयाँ मिति चाँडै नै घोषणा गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति हामी सम्पूर्ण दर्शकवृन्दसँग क्षमा प्रार्थी छौं ।”
‘जारी’ को अपार सफलतापछि दर्शकले ‘जारी २’ लाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । अब स्वदेश तथा विदेशका दर्शकले यो चलचित्र हेर्नका लागि केही समय थप कुर्नुपर्ने भएको छ ।