जसमान दर्नाल जिवन ।
क्रोएसिया — पछिल्लो समय नेपाली युवाहरूका लागि युरोप प्रवेश गर्ने प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बनेको क्रोएसियामा रहेका करिब ३० हजार नेपाली यतिबेला गम्भीर संकटमा परेका छन् ।
आफ्नो राहदानी (पासपोर्ट) को म्याद सकिए पनि समयमै नवीकरण गर्न नपाउँदा उनीहरूको कानुनी अस्तित्व नै खतरामा परेको हो । नेपाल सरकारको प्रतिनिधि संस्थाका रूपमा रहेको अस्ट्रियाको भियनास्थित नेपाली दूतावासको चरम लापरबाही र उदासीनताका कारण सयौं नेपालीले आफ्नो रोजगारी गुमाएका छन् भने दर्जनौं युवाहरू देश निकाला (डिपोर्ट) हुन बाध्य भएका छन् ।
क्रोएसियामा रोजगारी तथा अध्ययनका लागि पुगेका नेपालीहरूले त्यहाँ बस्नका लागि अस्थायी बसोबास अनुमति पत्र लिनुपर्छ । यो अनुमति पत्र नवीकरण गर्नका लागि राहदानीको म्याद हुनु अनिवार्य छ । तर, राहदानीको म्याद सकिएका नेपालीहरूले नवीकरण गर्न पाएका छैनन्, जसले गर्दा उनीहरूको अस्थायी बसोबास अनुमति पत्र पनि नवीकरण हुन सकेको छैन ।अस्थायी बसोबास अनुमति पत्र नभएपछि उनीहरूको बसाइ अवैध हुन्छ र जुनसुकै बेला पक्राउ परेर देश निकाला हुने जोखिम बढेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाका वरिष्ठ उपाध्यक्ष हर्क साहुका अनुसार, १४-१४ लाख रुपैयाँ खर्चेर क्रोएसिया आएका नेपाली युवाहरू राहदानीकै कारण अवैध बन्नुपर्ने र देश निकालाको त्रासमा बाँच्नुपर्ने अवस्था अत्यन्तै भयावह छ ।
क्रोएसियामा रहेका नेपालीहरूको राहदानीसम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी भियनास्थित नेपाली दूतावासको हो । पहिले-पहिले दूतावासले ‘घुम्ती शिविर’ सञ्चालन गरेर क्रोएसियामै आएर राहदानी नवीकरण गर्ने गरेको थियो । तर, पछिल्लो ६ महिनायता दूतावासले जनशक्ति अभावको कारण देखाउँदै घुम्ती शिविर सञ्चालन गर्न अस्वीकार गरेको छ ।
अझ चिन्ताको विषय त यो छ कि, नवीकरणका लागि आवेदन दिएर प्रक्रिया पूरा भएका ४१५ जना नेपालीको राहदानी समेत दूतावासले उपलब्ध गराएको छैन । यसले गर्दा उनीहरूले आफ्नो अस्थायी बसोबास अनुमति पत्र नवीकरण गर्न पाएका छैनन् र रोजगारी गुमाएर अवैध रूपमा बस्न बाध्य छन् ।
दूतावासको यस्तो व्यवहारबाट आजित भएपछि क्रोएसियास्थित नेपाली समुदायले एकीकृत रूपमा आवाज उठाएको छ । एनआरएनए क्रोसियाका अध्यक्ष साइमन लामाले भियनास्थित राजदूतलाई एक खुला पत्र लेख्दै नेपालीहरूको पीडा बुझिदिन आग्रह गरेका छन् । पत्रमा उनले भनेका छन्, ‘महामहिम राजदूतज्यू, कम्तीमा अघिल्लो घुम्ती शिविरमा बनाइएका पासपोर्टसम्म उपलब्ध गराइदिनुहोस् । यहाँका नेपाली समुदायको अभिभावक नेपाल सरकारको प्रतिनिधि भएर नेपालीको पीडा बुझिदिनुहुन विनम्र अनुरोध गर्छु ।’
यसैगरी, आइतबार एनआरएनए क्रोएसियाको कार्यालयमा अध्यक्ष लामाको अध्यक्षतामा १९ वटा विभिन्न नेपाली संघसंस्थाहरूको संयुक्त बैठक बसेको थियो । बैठकमा नेपाली जनप्रगतिशील मञ्च, मोना क्रोसिया, तामाङ समाज, मगर संघ, सुदूरपश्चिमेली नेपाली समाज लगायतका संस्थाहरूको सहभागिता थियो । बैठकले दुईवटा मुख्य माग अघि सारेको छ ।
१. तयार भइसकेका ४ सय १५ जनाको राहदानी तुरुन्त उपलब्ध गराइयोस् ।
२. अस्थायी बसोबास अनुमति पत्रको म्याद सकिएर नयाँ भिसा लगाउन नपाएका हजारौं नेपालीलाई लक्षित गरी तत्काल ‘राहदानी घुम्ती शिविर’ सञ्चालन गरियोस् ।
बैठकले राहदानी नवीकरण नभएकै कारण नेपालीहरूले देश निकाला जस्तो कठोर कारबाही भोग्नुपरेको भन्दै यस विषयमा गम्भीर हुन राजदूतलाई संयुक्त रूपमा आग्रह गरेको छ ।