Home Login
खेलकुद

पोर्चुगलमा दोस्रो ‘साओ टियोटोनियो गोल्ड कप’ फुटबल प्रतियोगिता हुने

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली समुदायको खेलकुदप्रतिको उत्साहलाई निरन्तरता दिँदै ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ खुला ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली क्लब साओ टियोटोनियोको आयोजनामा हुन लागेको यो प्रतियोगिताले पोर्चुगलमा रहेका नेपालीहरूलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।

“एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले नेपाली समुदायमा भाइचारा र सद्भाव बढाउने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिता आगामी नोभेम्बर १६ तारिख, शनिबारका दिन ‘जीडीआर साओ टियोटोनियो’ खेल मैदानमा बिहान ८ बजेदेखि सुरु हुनेछ । यो मैदान स्थानीय पोर्चुगिज क्लब ‘ग्रुपो डेस्पोर्टिभो रेनासेन्टे एस. टियोटोनियो’ को गृह मैदानको रूपमा परिचित छ ।

आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३ हजार ५ सय ३५ युरो (करिब ४ लाख ८५ हजार नेपाली रुपैयाँ) ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने टोलीले १ हजार ७ सय १७ युरो (करिब २ लाख ३५ हजार नेपाली रुपैयाँ) नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्न सफल हुने दुई टोलीलाई पनि प्रोत्साहन स्वरूप ५/५ सय युरो प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूका लागि प्रवेश शुल्क ३ सय ५० युरो तोकिएको छ । इच्छुक टोलीहरूले नोभेम्बर १० तारिखभित्र आफ्नो दर्ता सुनिश्चित गर्नुपर्नेछ ।

प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि आयोजकले निम्न सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ : ९२००८९८६८, ९२०१६५७८३, ९२०१७७४२५

पोर्चुगलमा रहेका नेपाली फुटबल खेलाडी तथा खेलप्रेमीहरूले यस प्रतियोगितालाई निकै उत्साहका साथ हेरेका छन् । यसले स्थानीय नेपाली युवाहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ ।

Leave a Reply