Home Login
पोर्चुगल

पोर्चुगलमा सार्वजनिक ठाउँमा बुर्का प्रतिबन्ध लगाउने विधेयक अनुमोदन

पोर्चुगल — पोर्चुगलको संसद्ले सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । अति दक्षिणपन्थी चेगा पार्टीले प्रस्ताव गरेको विधेयकलाई संसद्ले अनुमोदन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो विधेयकले मुस्लिम महिलाहरूले लगाउने बुर्का र निकाबलाई प्रभावकारी रूपमा लक्षित गरेको छ । विधेयक अन्तर्गत सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का लगाउनेलाई २ सय युरोदेखि ४ हजार युरोसम्म जरिवाना प्रस्ताव गरिएको छ । कसैलाई बुर्का लगाउन बाध्य पार्ने कार्यमा तीन वर्षसम्मको जेल सजाय हुने छ ।

हवाईजहाज, कूटनीतिक परिसर र पूजास्थलहरूमा भने अझै पनि अनुहार ढाक्ने बुर्का लगाउन अनुमति दिइने छ ।

यदि यो कानूनमा हस्ताक्षर भयो भने पोर्चुगल पनि फ्रान्स, अस्ट्रिया, बेल्जियम र नेदरल्यान्ड्सलगायत युरोपेली देशहरूको सूचीमा थपिनेछ । यी देशहरूले पहिले नै बुर्कामाथि पूर्ण वा आंशिक प्रतिबन्ध लगाएका छन् ।

राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले अझै पनि विधेयकलाई भिटो गर्न वा जाँचका लागि संवैधानिक अदालतमा पठाउन सक्ने खबरमा उल्लेख छ ।

Leave a Reply