पोर्चुगल — पोर्चुगलमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका एकजना कर्मठ नेपाली समाजसेवी तथा वामपन्थी अभियन्ता भण्डारीको निधन भएको छ । उहाँको निधनको खबरसँगै पोर्चुगल तथा युरोपमा रहेका प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ ।
स्वर्गीय भण्डारी हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँले पोर्चुगलमा नेपाली समुदायको हकहित र जनसंगठन विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
मिलनसार र समाजसेवी स्वभावका धनी भण्डारीले पोर्चुगलमा रहँदा नेकपा पोर्चुगलको कार्यसमिती सचिवालय सदस्य तथा नेपाली जनप्रतिनिधिशील मञ्च पोर्चुगलका सल्लाहकार जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको सक्रियतामा पोर्चुगलमा प्रवासी नेपालीहरूबीच सामाजिक एकता कायम गर्न र जनसंगठनलाई सुदृढ बनाउन लामो समयसम्म महत्त्वपूर्ण योगदान रहेको थियो ।
पोर्चुगल प्रवासमा मात्र नभई, स्वर्गीय भण्डारीको राजनीतिक र सामाजिक पृष्ठभूमि नेपालमा पनि उत्तिकै सक्रिय थियो । उहाँ नेपाल बुद्धिजिवि संगगठन चितवनको सचिव हुँदै केन्द्रिय सचिवालय सदस्यको भूमिकामा समेत रहेर काम गरिसक्नुभएको थियो ।
एक बौद्धिक र सङ्गठनात्मक क्षमता भएका व्यक्तिको निधनले नेपाली प्रवासी आन्दोलन र वामपन्थी संगठनलाई युरोप क्षेत्रमा अपूरणीय क्षति पुगेको मञ्चका सहकर्मीहरूले बताएका छन् । उहाँको निधनप्रति युरोपस्थित विभिन्न नेपाली संघसंस्था तथा व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।



 
                                         
                                

