नेदरल्याण्ड्स — बेल्जियम अधिराज्यका लागि नेपाली राजदूत सेवा लम्सालले बुधबार नेदरल्याण्ड्स अधिराज्यका महामहिम राजा विलेम-अलेक्जेन्डरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँ नेदरल्याण्ड्सका लागि गैर-आवासीय नेपाली राजदूत हुनुहुन्छ ।
हेगस्थित ऐतिहासिक नुरडेइन्डे राजदरबारमा आयोजित एक भव्य तथा विशेष समारोहका बीच राजदूत लम्सालले महामहिम राजासमक्ष उक्त ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
प्रमाणपत्र प्रस्तुती समारोह सम्पन्न भएलगत्तै राजदूत लम्साल र नेदरल्याण्ड्सका राजा विलेम-अलेक्जेन्डरबीच एकान्त भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा उहाँहरूबीच नेपाल–नेदरल्याण्ड्स सम्बन्धका विविध पक्षहरूबारे गहन विचारविमर्श भएको थियो ।
 वार्ताका क्रममा दुई देशबीच विद्यमान सौहार्दपूर्ण सम्बन्धलाई अझ सुदृढ र गहिरो बनाउने विषयमा छलफल केन्द्रित थियो । विशेषगरी, दुई देशबीचको व्यापार, पर्यटन, र लगानीका अवसरहरूलाई विस्तार गर्ने सम्बन्धमा दुवै पक्षले जोड दिएका थिए ।
वार्ताका क्रममा दुई देशबीच विद्यमान सौहार्दपूर्ण सम्बन्धलाई अझ सुदृढ र गहिरो बनाउने विषयमा छलफल केन्द्रित थियो । विशेषगरी, दुई देशबीचको व्यापार, पर्यटन, र लगानीका अवसरहरूलाई विस्तार गर्ने सम्बन्धमा दुवै पक्षले जोड दिएका थिए ।
राजदूत लम्सालले नेपालको वर्तमान आर्थिक अवस्था र लगानीमैत्री वातावरणबारे जानकारी गराउँदै नेदरल्याण्ड्सका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने विषयमा चर्चा गर्नुभयो ।
यसका अतिरिक्त, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उपायहरूबारे पनि विस्तृत छलफल भएको थियो । राजदूत लम्सालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेसँगै नेदरल्याण्ड्सका लागि गैर-आवासीय राजदूतको रूपमा उहाँको कार्यकाल आधिकारिक रूपमा प्रारम्भ भएको छ ।



 
                                         
                                

