पोर्चुगल — पोर्चुगलको आप्रवासन तथा शरणार्थी एकीकरण एजेन्सी (एआईएमए) ले आवास अनुमति नवीकरण प्रक्रियामा महत्त्वपूर्ण अपडेट सार्वजनिक गरेको छ । यो अपडेट विशेष गरी ती व्यक्तिहरूका लागि हो जसको रेसिडेन्सी कार्डको म्याद नजिकिँदै छ वा आफ्ना छोराछोरीको नवीकरण गर्दै हुनुहुन्छ ।
१. डिसेम्बर २०२५ सम्म म्याद सकिने कार्डहरूको नवीकरण सुरु
एआईएमएले आफ्नो अनलाइन पोर्टलमा नयाँ स्लटहरू खुला गरेको छ । अब डिसेम्बर २०२५ मा म्याद सकिने आवास अनुमति पत्रहरूका लागि अनलाइन नवीकरण सेवा उपलब्ध गराइएको छ । यदि तपाईंको रेसिडेन्सी कार्डको म्याद डिसेम्बर २०२५ भित्र सकिँदैछ भने, तपाईंले तत्काल पोर्टलमा गएर नवीकरण आवेदन दिन सक्नुहुन्छ ।
नवीकरण गर्ने पोर्टल : portal-renovacoes.aima.gov.pt
समयमै नवीकरण नगर्दा कानुनी जटिलता आउन सक्ने वा जरिवाना तिर्नुपर्ने हुन सक्छ, त्यसैले म्याद सकिनु अगावै प्रक्रिया सुरु गर्न सुझाव दिइएको छ ।
२. बालबालिका (१८ वर्ष मुनि) को नवीकरणमा नयाँ नियम
यदि तपाईं १८ वर्ष मुनिका आफ्ना छोराछोरीको रेसिडेन्सी नवीकरण गर्दै हुनुहुन्छ भने, एआईएमएले एउटा कागजात अनिवार्य गरेको छ । प्रक्रिया छिटो र छरितो बनाउन ‘जिम्मेवारी पत्र’ पेश गर्नु अब अत्यावश्यक भएको छ ।
नयाँ निर्देशन अनुसार, अभिभावकले आफ्नो बच्चाको लागि बस्ने, खाने र अन्य हेरचाहको जिम्मा लिएको कानुनी घोषणा (Modelo 4) पोर्टलमा अपलोड गर्नुपर्नेछ । यो कागजात नभएमा वा अपूर्ण भएमा निर्णय प्रक्रिया लम्बिने र कार्ड आउन ढिलाइ हुनेछ ।
नोट : सुरुमै सबै आवश्यक कागजात र जिम्मेवारी पत्र सहितको पूर्ण फाइल (Complete File) पेश गर्नाले अनुमति जारी हुने समय (Waiting Time) उल्लेख्य रूपमा घट्ने एजेन्सीले जनाएको छ ।
अनलाइन नवीकरण कसरी गर्ने ? (चरणबद्ध प्रक्रिया)
पोर्चुगलमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले तलका चरणहरू अपनाएर घरबाटै नवीकरण गर्न सक्नुहुन्छ :
१.पोर्टल खोल्नुहोस् : मोबाइल वा कम्प्युटरमा portal-renovacoes.aima.gov.pt मा जानुहोस् ।
२. लग-इन गर्नुहोस् : आफ्नो डिजिटल मोबाइल की (Chave Móvel Digital) वा लग-इन विवरण प्रयोग गर्नुहोस् ।
३. विवरण जाँच गर्नुहोस् : आफ्नो म्याद सकिन लागेको कार्डको विवरण र डिसेम्बर २०२५ को योग्यता यकिन गर्नुहोस् ।
४. कागजात अपलोड (नाबालिग भएमा) : यदि बच्चाको लागि हो भने, माथि उल्लेख गरिएको ‘Modelo 4’ भरेर र हस्ताक्षर गरेर अपलोड गर्न नबिर्सनुहोस् ।
५. शुल्क भुक्तानी : प्रक्रिया पूरा भएपछि तोकिएको नवीकरण शुल्क तिर्नुहोस् (सामान्यतया Multibanco मार्फत) ।
यो जानकारी पोर्चुगलमा रहनुभएका सम्पूर्ण नेपालीहरू माझ पुर्याउनुहोला, ताकि कसैको पनि आवास अनुमति नवीकरणमा समस्या नआओस् ।





