Home Login
प्रवास

अस्ट्रेलियाले १६ वर्षमुनिका सोशल मिडिया अकाउन्ट बन्द गराउँदै

अस्ट्रेलिया — अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालक–बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै इन्स्टाग्राम, फेसबुक, थ्रेड्स लगायतका प्लेटफर्ममा उनीहरूको अकाउन्ट बन्द गर्ने प्रक्रिया सुरु गरेको छ । नयाँ कानुनअनुसार डिसेम्बर १० देखि १६ वर्ष मुनिका प्रयोगकर्ताले ती प्लेटफर्म प्रयोग गर्न पाउने छैनन् । त्यसैअनुसार प्लेटफर्मको मालिक कम्पनी मेटाले डिसेम्बर ४ देखि १३–१५ वर्षका प्रयोगकर्तालाई टेक्स्ट, इमेल वा एपमार्फत् अकाउन्ट निष्क्रिय हुने सूचना दिन थालिसकेको छ । 

अस्ट्रेलियाको इन्टरनेट नियामकले सो उमेर समूहका १ लाख ५० हजार फेसबुक तथा ३ लाख ५० हजार इन्स्टाग्राम प्रयोगकर्ता रहेको अनुमान गरेको छ । प्रतिबन्ध लागू भएपछि नयाँ अकाउन्ट खोल्न नपाइने मात्र होइन, भएका अकाउन्ट पनि बन्द गरिनेछन् ।

किशोरकिशोरीलाई आफ्नो डेटा—पोस्ट, भिडियो, मेसेज—डाउनलोड गरी सुरक्षित राख्न छुट दिइएको छ । यदि कसैले आफू १६ वर्ष पुगेको दाबी गरेमा मेटाले फेशियल एज स्क्यानलगायतका प्रमाण पेश गर्न भनेको छ । 

कानुन नमान्ने प्लेटफर्मलाई ५ करोड अस्ट्रेलियन डलरसम्मको जरिवाना गर्न सकिनेछ । मेटाका ग्लोबल हेड अफ सेफ्टी एन्टिगोन डेभिसले “१६ वर्ष मुनिका सबै प्रयोगकर्ता हटाउन हामी भरपुर प्रयास गरिरहेका छौं, तर यो निरन्तर र जटिल काम हो,” भने । यसैबीच मेटाले अभिभावकको स्वीकृतिबिना अकाउन्ट खोल्न नदिने विकल्प उपयुक्त हुने तर्क पनि राखेको छ । “किशोरकिशोरी चतुर हुन्छन्, नियम तोड्ने बाटो खोज्न सक्छन्,” मेटाको भनाइ छ । 

इ–सेफ्टी कमिस्नर जुली इन्मान ग्रान्टका अनुसार यो कदम “किशोरहरूलाई सामाजिक सञ्जालको दवाब र जोखिमबाट जोगाउने” लक्ष्यका साथ लागू गरिएको हो । प्रतिबन्ध लाग्ने प्लेटफर्म : फेसबुक, इन्स्टाग्राम, किक, रेडिट, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स (ट्विटर), युट्युब प्ल्याटफर्महरू रहेका छन् । त्यस्तै प्रतिबन्ध नलगाइने प्लेटफर्म : डिस्कोर्ड, गिटहब, गुगल क्लासरूम, लेगो प्ले, मेसेन्जर, रोब्लक्स, स्टिम÷स्टिम च्याट,  ह्वाट्सएप, युट्युब किड्स रहेका हुन् ।

Leave a Reply