Home Login
राष्ट्रिय

क्रिस्टियानो रोनाल्डोको तस्बिर अंकित ‘७ युरोको नोट’ बैंक अफ पोर्चुगलले भन्यो हल्ला मात्र

लिस्बन (पोर्चुगल) — बैंक अफ पोर्चुगलले विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा ‘७ युरोको बैंकनोट’ जारी गर्ने भन्ने समाचार पूर्ण रूपमा झुटो भएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका यस्ता दाबीहरू पछि केन्द्रीय बैंकले बिहीबार एक आधिकारिक चेतावनी जारी गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेको हो ।

पछिल्लो समय टिकटक, फेसबुक र ट्विटर (X) जस्ता सामाजिक सञ्जालहरूमा रोनाल्डोको तस्बिर र हस्ताक्षर भएको ७ युरोको नोटको तस्बिर व्यापक रूपमा सेयर भइरहेको छ ।

प्रयोगकर्ताहरूले यसलाई पोर्चुगल सरकारले आफ्नो महान खेलाडीलाई दिएको ऐतिहासिक सम्मान भन्दै प्रचार गरिरहेका छन् । रोनाल्डोको जर्सी नम्बर ७ भएकाले यो ‘७ युरो’ को हल्ला चलाइएको देखिन्छ । यद्यपि, बैंक अफ पोर्चुगलले यो तस्बिर र समाचार पूर्णतया नक्कली भएको पुष्टि गरेको छ ।

बैंक अफ पोर्चुगलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई श्रद्धाञ्जलीस्वरूप बैंकले ७ युरोको बैंकनोट जारी गर्ने सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएका झूटा प्रकाशनहरूबारे हामी सचेत छौं । हामी स्पष्ट पार्न चाहन्छौं कि बैंकले प्रश्नमा रहेको व्यक्तित्व (रोनाल्डो) लाई संकेत गर्ने कुनै पनि बैंकनोट जारी गरेको छैन, प्रचलनमा ल्याएको छैन र भविष्यमा यस्तो गर्ने कुनै योजना पनि छैन ।”

बैंकले प्राविधिक पक्ष पनि स्पष्ट पारेको छ । युरोपेली संघमा युरो बैंकनोट जारी गर्ने काम ‘युरोसिस्टम’ को कडा नियम र ढाँचाभित्र रहेर गरिन्छ ।

हाल युरोमा ५, १०, २०, ५०, १०० र २०० का नोटहरू मात्र प्रचलनमा छन् । ‘७ युरो’ जस्तो कुनै पनि डिनोमिनेसन (दर) आधिकारिक युरो प्रणालीमा अस्तित्वमा छैन र कुनै एक देशले मात्र आफूखुसी यस्तो नोट छाप्न मिल्दैन ।

रोनाल्डोको नाम जोडेर नक्कली मुद्राको हल्ला चलेको यो पहिलो पटक होइन । यसअघि विदेशी वेबसाइटहरूमा रोनाल्डोको सम्मानमा ७.५० युरोको विशेष सिक्का जारी गरेको भन्ने गलत समाचार पनि आएको थियो । यस विषयमा पनि बैंकले आफ्नो वेबसाइटमा ‘रातो साइरन’ सहितको चेतावनी राख्दै चिन्ता व्यक्त गरेको थियो । बैंकले भनेको छ, “बैंक अफ पोर्चुगलले उक्त व्यक्तिलाई सन्दर्भित गर्ने कुनै सङ्कलक वा स्मारक सिक्का जारी गरेको छैन, न त जारी गर्ने इरादा नै राखेको छ ।”

अधिकारीहरूले यस्ता नक्कली नोट वा सिक्काहरू ‘दुर्लभ’ भन्दै अनलाइनमार्फत बिक्री गर्न खोज्ने ठगहरूबाट बच्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । यदि तपाईंले सामाजिक सञ्जालमा रोनाल्डोको नोट देख्नुभयो भने, बुझ्नुहोस् कि त्यो केवल फोटोसप गरिएको तस्बिर हो र त्यसको कुनै मौद्रिक मूल्य छैन ।

Leave a Reply