Home Login
नेपाली राजदूतावास लिस्बन

मदेइरामा दूतावासको घुम्ती शिविर सम्पन्न : ९५ जना नेपालीले लिए सेवा

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले यहाँको चर्चित पर्यटकीय टापु मदेइरामा रहेका नेपालीहरूलाई लक्षित गर्दै दुई दिने विशेष ‘कन्सुलर’ सेवा शिविर सम्पन्न गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेको मदेइरा टापुमै पुगेर दूतावासले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवाहरू घरदैलोमै उपलब्ध गराएको हो ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइराको फुन्चालमा शनिबार र आइतबार गरी दुई दिनसम्म उक्त घुम्ती शिविर सञ्चालन गरेको थियो । दूतावासले दिएको जानकारी अनुसार, यस शिविरबाट कुल ९५ जना सेवाग्राही नेपालीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

शिविरमा मुख्यतया विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण र विभिन्न कागजातहरूको प्रमाणीकरणमा जोड दिइएको थियो । सेवाग्राहीमध्ये सबैभन्दा धेरै ८० जनाले राहदानी नवीकरणको सेवा लिएका छन् । यसैगरी, १४ जनाले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण गराएका छन् भने एक जनाले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा लिएको टोलीले जनाएको छ ।

राजदूत प्रकाशमणि पौडेलले मदेइरामा रहेका नेपालीहरूले राहदानी तथा कागजात प्रमाणीकरणका लागि भोग्नुपरेको समस्यालाई समाधान गर्न दूतावास आफैं उनीहरूकहाँ पुगेको बताउनुभयो । लिस्बनसम्म यात्रा गर्दा लाग्ने समय र खर्चको बचत गर्दै, समस्यामा परेका नेपालीलाई सहज रूपमा सेवा प्रदान गर्नु नै शिविरको मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली दूतावासले पोर्चुगलका विभिन्न सहरमा रहेका नेपालीहरूको सुविधाका लागि यस्ता घुम्ती शिविरहरूलाई प्राथमिकताका साथ अघि बढाएको देखिन्छ । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको अर्को प्रमुख सहर फारोमा यस्तै शिविर सञ्चालन गरेको थियो, जहाँबाट दुई सय जना नेपालीले सेवा प्राप्त गरेका थिए । मदेइरामा सम्पन्न यो शिविरले त्यहाँ कार्यरत र बसोबास गर्ने नेपाली समुदायलाई ठूलो राहत मिलेको छ ।

Leave a Reply