Home Login
राजदूतावास

ब्रिटिश कोलम्बियाको सरीमा घुम्ती कन्सुलर शिविर सञ्चालन गरिने

अटावा (सरी) — क्यानाडाको अटावास्थित नेपाली राजदूतावासले ब्रिटिश कोलम्बियाको सरीमा दुई दिने विशेष घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

क्यानाडाको पश्चिमी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सहज र सुलभ रूपमा सरकारी सेवा प्रदान गर्ने उद्देश्यले आगामी सन् २०२६ को जनवरी १९ र २० तारिखमा यो शिविर आयोजना गर्न लागिएको हो ।

दूतावासको कार्यालय अटावामा रहेको र ब्रिटिश कोलम्बिया भौगोलिक रूपमा निकै टाढा पर्ने हुँदा सेवाग्राहीहरूको सहजताका लागि यो शिविर निकै महत्त्वपूर्ण मानिएको छ । यो कार्यक्रम सफल बनाउन दूतावासले स्थानीय नेपाली संघ–संस्थाहरू नेपाल कल्चरल सोसाइटी अफ बिसी (NCSBC), हिन्दू बुद्धिस्ट फाउन्डेसन अफ क्यानाडा र एनआरएन–क्यानाडा (NRN-Canada) सँग सहकार्य गरेको छ । दूतावासले जारी गरेको सूचना अनुसार, तोकिएका दुई दिन सरीस्थित हिन्दू बुद्धिस्ट फाउन्डेसन अफ क्यानाडाको भवनमा उपस्थित भई सेवाग्राहीले सेवा लिन सक्नेछन् ।

यस घुम्ती कन्सुलर शिविरमा मुख्यतया राहदानी नवीकरण गर्ने सुविधा उपलब्ध हुनेछ, जुन विदेशमा बस्ने नेपालीहरूका लागि सबैभन्दा आवश्यक सेवामध्ये एक हो । यसका साथै, वारेसनामा वा अख्तियारनामा प्रमाणिकरण र अन्य विभिन्न कानुनी कागजातहरूको प्रमाणीकरण सेवा पनि शिविरमा प्रदान गरिनेछ । बिसी र त्यस वरपरका क्षेत्रमा रहेका नेपालीहरूले सानातिना कामका लागि पनि लामो यात्रा गरेर अटावा पुग्नुपर्ने बाध्यतालाई यस शिविरले अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

सेवाग्राहीहरूलाई कुनै पनि असुविधा नहोस् भनेर दूतावासले पूर्वतयारीमा जोड दिएको छ । सेवा प्राप्त गर्न चाहने व्यक्तिहरूले आवश्यक प्रक्रिया पूरा गरी, पूर्ण कागजातहरू र तोकिएको शुल्क (Money Order वा Bank Draft मार्फत हुनसक्ने) तयार पारेर आउन अनुरोध गरिएको छ । कुन सेवाका लागि कति शुल्क लाग्छ र के–के कागजात चाहिन्छ भन्ने विस्तृत जानकारीका लागि नेपाली राजदूतावास, अटावाको आधिकारिक वेबसाइटमा हेर्न दूतावासले सुचित गरेको छ ।

नेपाली राजदूतावास, अटावाले आफ्ना नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै क्यानाडाका विभिन्न प्रमुख शहरहरूमा वर्षैभरी यस्ता घुम्ती कन्सुलर सेवाहरू सञ्चालन गर्दै आएको छ । जनवरी २०२६ मा हुने यो शिविरले ब्रिटिश कोलम्बियामा बढ्दै गरेको नेपाली समुदायलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ ।

Leave a Reply