लिस्बन (पोर्चुगल) — पोर्चुगलको आप्रवासन तथा शरणका लागि एजेन्सी (एआईएमए) ले त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका आप्रवासीहरूका लागि आवास अनुमति पत्र नवीकरण प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाएको छ ।
एजेन्सीले हालै जारी गरेको सूचना अनुसार, अब दीर्घकालीन निवासी स्थिति भएका व्यक्तिहरूले आफ्नो आवास अनुमति नवीकरणका लागि भौतिक रूपमा कार्यालय उपस्थित हुनु नपर्ने गरी अनलाइन पोर्टलको व्यवस्था गरिएको छ ।
यो नयाँ व्यवस्था ४ जुलाईको कानून नं. २३/२००७ को धारा १३०(२) र ५ नोभेम्बरको डिक्री-कानून नं. ८४/२००७ को धारा ७५ मा उल्लेखित वर्तमान कानूनी प्रावधानहरूमा आधारित छ ।
यी कानूनी आधारहरू टेकेर एजेन्सीले योग्य आवेदकहरूलाई तोकिएको आधिकारिक नवीकरण पोर्टल मार्फत आवेदन दिन आग्रह गरेको छ । यसले लामो समयदेखि नवीकरणको पर्खाइमा रहेका आप्रवासीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
अनलाइन नवीकरण प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवेदकहरूसँग सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) हुनु अनिवार्य गरिएको छ । एजेन्सीका अनुसार, यो नम्बर सामाजिक सुरक्षा संस्थान वा तोकिएका नागरिक सेवा केन्द्रहरूबाट प्राप्त गर्न सकिन्छ । यदि कुनै आवेदकसँग पहिले नै NISS उपलब्ध छ तर त्यो एआईएमएको तथ्याङ्कमा देखिएको छैन वा रेकर्ड भएको छैन भने, त्यसलाई तत्काल अद्यावधिक गर्नुपर्ने हुन्छ । यो नम्बर बिना नवीकरण प्रक्रिया अगाडि बढाउन प्राविधिक रूपमा असम्भव हुने हुँदा सबैलाई आफ्नो विवरण चुस्त राख्न सुझाव दिइएको छ ।
यसका साथै, नवीकरण भएको नयाँ आवास अनुमति पत्र हुलाक मार्फत आवेदकको घरमै पठाइने व्यवस्था गरिएको छ । त्यसैले, आवेदकहरूले आफ्नो हालको बसोबासको ठेगाना एजेन्सीको प्रणालीमा सही र अद्यावधिक भएको सुनिश्चित गर्नुपर्नेछ । यदि ठेगाना पुरानो छ वा बसाई सराई गरिएको छ भने, कार्ड गलत ठाउँमा पुग्ने वा हराउने जोखिम रहन्छ ।
एआईएमएले स्पष्ट पारेको छ कि ठेगाना परिवर्तन गर्न, NISS नम्बर जोड्न वा अन्य कुनै पनि व्यक्तिगत विवरणहरू सच्याउनका लागि एजेन्सीको आधिकारिक सम्पर्क फारम प्रयोग गर्नुपर्नेछ । यी सबै प्रक्रियाहरू पूरा गरेपछि मात्र योग्य व्यक्तिहरूले ‘पोर्टल-रेनोभाकोस’ मा लगइन गरी आफ्नो आवेदन बुझाउन सक्नेछन् । यो कदमले प्रशासनिक झन्झट कम गर्ने र सेवा प्रवाहलाई छिटो छरितो बनाउने विश्वास लिइएको छ ।





