Home Login
नर्वे

ओस्लोमा ‘माङ्ग्फ़ोल्ड मल्टिकल्चरल शो-केस २०२५’ भव्यताका साथ सम्पन्न

ओस्लो (नर्वे) — माङ्ग्फ़ोल्ड नेपाल–नोर्गेको मुख्य आयोजनामा नर्वेको राजधानी ओस्लोमा ‘माङ्ग्फ़ोल्ड मल्टिकल्चरल शो-केस २०२५’ (Mangfold Multicultural Show-Case 2025) कार्यक्रम उल्लासमय वातावरण र भव्यताका साथ सम्पन्न भएको छ । कला र संस्कृतिको माध्यमबाट विभिन्न देशहरूबीच भाइचारा र सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम पूर्ण रूपमा सफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालसहित थाइल्यान्ड, श्रीलंका, चीन, फिलिपिन्स, नर्वे, युक्रेन र भारत गरी कुल ८ वटा देशका कलाकारहरूको सहभागिता रहेको थियो । सहभागी कलाकारहरूले आ–आफ्नो राष्ट्रको मौलिक पहिचान झल्कने लोकसंस्कृति, भेषभूषा, नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए ।

विविधतामा एकताको सन्देश दिँदै प्रस्तुत गरिएको बहुसांस्कृतिक झाँकीहरूले ओस्लोमा एकै थलोमा विश्वका विभिन्न रङहरूलाई समेटेको आभास दिलाएको थियो । विशेषगरी, नेपाली मौलिक गीत, सङ्गीत र नृत्यको प्रस्तुतिले उपस्थित दर्शकहरूको मन जित्न सफल भयो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालकी चर्चित तथा लोकप्रिय गायिका सृजना खत्री (हाउडे माया) को विशेष सांगीतिक प्रस्तुति रहेको थियो । उनले मञ्च सम्हाल्नासाथ कार्यक्रमको माहोल निकै तताएको थियो ।

गायिका खत्रीले आफ्ना चर्चित गीतहरू गाउँदा हलमा उपस्थित नेपाली समुदाय मात्र नभई विदेशी पाहुनाहरू समेत उत्साहित हुँदै नाचेका थिए । भाषा र भूगोल फरक भए पनि सङ्गीतको कुनै सिमाना हुँदैन भन्ने कुरा गायिका खत्रीको प्रस्तुतिमा विदेशीहरू रमाएको दृश्यले पुष्टि गरेको थियो ।

सांस्कृतिक प्रस्तुतिपछि कार्यक्रमको अन्त्यमा औपचारिक सम्मान कार्यक्रम राखिएको थियो । सो अवसरमा कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन अहोरात्र खटिने स्वयम्सेवकहरू तथा आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्ने कलाकारहरूलाई कदरस्वरूप प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

नर्वेमा रहेका नेपाली र अन्य समुदायबीचको सम्बन्ध प्रगाढ बनाउन तथा नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो कार्यक्रम कोसेढुङ्गा साबित भएको सहभागीहरूले बताएका छन् ।

Leave a Reply