Home Login
प्रवास

स्पेनको कास्पेमा बागलुङका ३५ वर्षीय घनश्याम के.सीको असामयिक निधन

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् ।

उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको थियो । सुतेको केही समयपछि नै साथीभाइहरूले उहाँलाई मृत अवस्थामा फेला पारेका थिए । घटना लगत्तै साथीहरूले स्थानीय प्रहरीलाई खबर गरी आवश्यक जानकारी गराएका थिए । कानुनी प्रक्रिया पूरा गर्ने क्रममा हिजो जारागोजास्थित इन्स्टिच्युटो डि मेडिसिना लिगल डि आरागोनमा उहाँको शव परीक्षण (पोष्टमार्टम) सम्पन्न भई सोको आधिकारिक प्रतिवेदन समेत प्राप्त भइसकेको छ ।

यस दुःखद घडीमा परिवारलाई ढाडस दिन र आवश्यक निर्णय लिनका लागि उहाँका भाइ र जेठान अन्य मुलुकबाट कास्पे आइपुगिसक्नुभएको छ । साथै, घटनाको जानकारी पाउनासाथ गैरआवासीय नेपाली संघ स्पेनको विशेष टोली कास्पे पुगी सम्पूर्ण व्यवस्थापनमा सक्रियतापूर्वक जुटिरहेको छ । हाल परिवारजनबीच पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि नेपाल लैजाने वा स्पेनमै दाहसंस्कार गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ ।

कास्पे क्षेत्रमा दाहसंस्कारका लागि ‘क्रेमाटोरियो’ (शव दाहगृह) उपलब्ध नभएका कारण, यदि परिवारले स्पेनमै अन्तिम संस्कार गर्ने निर्णय लिएमा त्यसको सम्पूर्ण व्यवस्थापन जारागोजामा गरिने तयारी मिलाइएको छ ।

यस सन्दर्भमा एनआरएनए स्पेनको पहलमा त्यहाँका स्थानीय नगर प्रमुख (मेयर) सँग भेटघाट गरी समन्वय गरिएको छ । उक्त समन्वय पश्चात सम्भव हुने सबै किसिमका आर्थिक सहुलियत उपलब्ध गराउँदै न्यूनतम लागतमा शव व्यवस्थापन वा दाहसंस्कार गर्न सकिने गरी तयारी पूरा भइसकेको छ ।

Leave a Reply