लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण तथा नयाँ आवेदनका लागि अनलाइन बुकिङ खुला गरेको छ । राजदूतावासले आज एक सूचना जारी गर्दै राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका सेवाग्राहीहरूलाई लक्षित गरी आवेदन खुलाएको जानकारी दिएको हो ।
राजदूतावासका अनुसार आगामी डिसेम्बर २६, २०२५ देखि ३० जनवरी २०२६ सम्मको अवधिका लागि राहदानी आवेदन फाराम भर्ने समय तोकिएको छ । यो समयावधिका लागि अनलाइन अपोइन्टमेन्टको बुकिङ आजै (१९ डिसेम्बर) साँझ ५ बजेबाट खुला गरिएको छ ।
सेवाग्राहीहरूले राहदानी विभागको आधिकारिक वेबसाइट (emrtds.nepalpassport.gov.np) मार्फत अनलाइन फाराम भर्न सक्नेछन् । राजदूतावासले अनलाइन अपोइन्टमेन्टहरू निश्चित समयमा मात्र खुला गरिने भएकाले तत्कालै बुकिङ गर्न नसकेको खण्डमा धैर्यताका साथ प्रतीक्षा गर्न समेत सबैमा अनुरोध गरेको छ ।
आवेदन प्रक्रिया पूरा गर्नका लागि सेवाग्राहीहरूले अनलाइन फाराम भरी त्यसको प्रिन्ट आउट अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ । बायोमेट्रिक्स दिनका लागि तोकिएको मिति र समयमा राजदूतावासको कार्यालय, Rua Pero de Alenquer 29, 1400-293, Lisboa मा उपस्थित हुँदा आवेदकले आफ्नो सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र तथा तिनका प्रतिलिपिहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
त्यसैगरी, नावालकहरूको हकमा राहदानी बनाउनुपरेमा थप कागजातहरू आवश्यक पर्ने जनाइएको छ । नावालक आवेदकका लागि नावालक परिचय पत्र, जन्मदर्ता प्रमाणपत्र, बुबा तथा आमाको नागरिकता प्रमाणपत्र, राहदानी र विवाह दर्ता प्रमाणपत्र समेत अनिवार्य रूपमा लिएर आउन राजदूतावासले सूचित गरेको छ ।
राजदूतावासले आफ्नो सेवा प्रवाहको समय तालिका पनि स्पष्ट पारेको छ । कन्सुलर सेवाहरू कार्यालय खुलेको दिन बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म उपलब्ध हुनेछन् भने राहदानी वितरण तथा राहदानी सम्बन्धी जानकारी लिनका लागि दिउँसो २ बजेपछिको समय निर्धारण गरिएको छ । सेवाग्राहीहरूले थप जानकारीका लागि राजदूतावासको आधिकारिक वेबसाइट हेर्न सक्नेछन् भने अत्यावश्यक सोधपुछका लागि eonlisbon@gmail.com मा ईमेल वा २१३०११३०८ (213011308) मा टेलिफोन गरी सम्पर्क गर्न सकिनेछ ।





