Home Login
प्रवास

चर्चित गायक सुजन चापागाईं र उनको ब्याण्ड ‘युरोप टुर २०२६’ का लागि आउँदै

पोर्चुगल — पछिल्लो समयका सर्वाधिक लोकप्रिय तथा युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं आफ्नो ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोपको सांगीतिक यात्रामा निस्कने भएका छन् ।

सन् २०२६ मा आयोजना हुने ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नाम दिइएको विशेष सांगीतिक टुरका लागि उनी युरोप आउने भएको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो बृहत् कार्यक्रम तय गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सले संयुक्त रूपमा यो कार्यक्रमको आयोजना गरेका हुन् ।

यस सांगीतिक यात्रालाई केन्द्र मोशन पिक्चर्सले मुख्य साथ र सहयोग प्रदान गरेको छ । “नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ” भन्ने पवित्र उद्देश्य बोकेर स्थापित यी आयोजक संस्थाहरूले विगत लामो समयदेखि युरोपको भूमिमा नेपाली चलचित्रको प्रदर्शन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू गरेर नेपालीपनलाई जीवित राख्दै आएका छन् ।

सुजन चापागाईं वर्तमान नेपाली संगीतका एक सशक्त र जादुमय आवाज भएका गायक हुन् । आफ्ना हरेक गीतमा मौलिकपन र फरक स्वाद पस्कन सिपालु सुजनका सिर्जनाहरू बच्चादेखि वृद्धसम्मको मनमा बस्न सफल छन् । यस युरोप टुरमा उनले आफ्ना कालजयी तथा सर्वाधिक रुचाइएका गीतहरू मार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् । विशेष गरी युट्युब र टिकटकमा करोडौं दर्शकको माया पाएको ‘तीनपाते’, प्रेमिल जोडीहरूको ढुकढुकी बनेको ‘लजाएर’, सबैको मन छुने र रमाइलो ‘गाला पुक्क’, भावनाले ओतप्रोत ‘बाफ’ तथा पछिल्लो समयको निकै चर्चित गीत ‘घुम्ती’ (फूल बारीमासी) लगायतका दर्जनौं हिट गीतहरू प्रत्यक्ष सुन्न र हेर्न पाउने दुर्लभ अवसर युरोपवासी नेपालीहरूले प्राप्त गर्नेछन् । उनको ब्याण्डको लाइभ प्रस्तुतिले कार्यक्रमलाई थप ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।

यो कार्यक्रम केवल मनोरञ्जनमा मात्र सीमित नभई प्रवासमा रहेका नेपालीहरूलाई जोड्ने भावनात्मक सेतुको रूपमा रहने विश्वास आयोजकले लिएको छ ।

गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले युरोपाटीसँग कुरा गर्दै यो कार्यक्रमले युरोपमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो कला, संस्कृति र माटोको सुगन्धसँग पुन: जोड्ने बताउनुभयो । उहाँका अनुसार यो टुर युरोपका नेपालीहरूका लागि एक ऐतिहासिक सांगीतिक उत्सव बन्नेछ ।

सन् २०२६ मा हुने यस बृहत् सांगीतिक कार्यक्रमका लागि युरोपका विभिन्न सहरहरूमा उनले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रम हुने मिति, स्थान र अन्य विस्तृत जानकारीका लागि आयोजक गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

Leave a Reply