Home Login
राष्ट्रिय

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई युरोपेली मुलुक पोर्चुगल र रोमानिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१० मा बसोबास गर्दै आएका तनहुँका ३२ वर्षीय रोविन जीआर र काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्ने ओखलढुंगाकी ४८ वर्षीया गीतामाया मगर रहेका छन् । उनीहरूलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


प्रहरीका अनुसार रोविन जीआरले पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख १० हजार रुपैयाँ लिएका थिए । त्यसैगरी गीतामाया मगरले रोमानिया पठाइदिने आश्वासन दिँदै दुई जना पीडितहरूबाट जम्मा आठ लाख ४० हजार रुपैयाँ असुली गरी सम्पर्कविहीन बनेकी थिइन् ।

पीडितहरूले आफूहरू ठगिएको भन्दै दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानकै क्रममा रोविनलाई काठमाडौं महानगरपालिका–१४ क्षेत्रबाट र गीतामायालाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले वैदेशिक रोजगारीको नाममा रकम संकलन गरी पीडितहरूलाई विदेश नपठाएको खुलेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।

प्रहरीले वैदेशिक रोजगारीमा जाने क्रममा अनुमति प्राप्त म्यानपावर कम्पनी र आधिकारिक प्रक्रिया नअपनाउँदा यस्ता ठगीका घटनाहरू बढ्दै गएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply