लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलको दोस्रो ठूलो सहर पोर्टोमा ‘घुम्ती पासपोर्ट शिविर’ सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूको समय र खर्च बचत गराउँदै घरदैलोमै सेवा पुर्याउने अभिप्रायले दूतावासले यो विशेष शिविरको आयोजना गर्न लागेको हो ।
दूतावासले जारी गरेको सूचना अनुसार, उक्त शिविर आगामी सन् २०२६ जनवरी २४ तारिख शनिबार र २५ तारिख आइतबार गरी दुई दिनसम्म सञ्चालन हुनेछ । सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि दूतावासले समय तालिका समेत निर्धारण गरेको छ । जसअनुसार पहिलो दिन अर्थात् शनिबार दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रदान गरिनेछ भने दोस्रो दिन आइतबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म शिविर सञ्चालन हुनेछ ।
शिविर सञ्चालन हुने यकिन स्थान भने हाल तय भइनसकेको र छिट्टै सार्वजनिक गरिने जानकारी दूतावासले दिएको छ ।
यस दुई दिने शिविरमा राहदानी (पासपोर्ट) सम्बन्धी सम्पूर्ण अत्यावश्यक सेवाहरू उपलब्ध गराइनेछ । यसअन्तर्गत नयाँ राहदानी बनाउने, म्याद सकिएको राहदानी नवीकरण गर्ने, हराएको वा चोरी भएको राहदानीको सट्टा नयाँ बनाउने तथा पोर्चुगलमा जन्मिएका बालबालिकाको पहिलो राहदानी बनाउने सेवाहरू समावेश छन् ।
सेवालाई छिटो र छरितो बनाउन दूतावासले सेवाग्राहीहरूका लागि केही अनिवार्य प्रक्रियाहरू तोकेको छ । शिविरमा सहभागी हुन चाहने व्यक्तिहरूले अनिवार्य रूपमा अनलाइन प्रि-इनरोलमेन्ट (Pre-Enrollment) गरेको हुनुपर्नेछ । यसका साथै, अनलाइन फारम भरेपछि प्राप्त हुने भेरिफिकेसन पीडीएफ फारम आगामी सन् २०२६ जनवरी २२ तारिखभित्र दूतावासको आधिकारिक इमेल eonlisbon@gmail.com मा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र विवरण नपठाउने सेवाग्राहीहरू शिविरको सेवाबाट वञ्चित हुन सक्नेछन् ।
दूतावासले यो शिविर विशेष गरी पोर्टो तथा त्यस वरपरका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको जनाएको छ । तसर्थ, सोही क्षेत्रका नेपाली नागरिकहरूलाई मात्र उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ । विकेन्द्रित सेवा प्रवाहको नीति अनुरुप नेपाली राजदूतावास लिस्बनले यसअघि पनि पोर्चुगलको फारो सहर र मदेईराको फुञ्चलमा यस्तै प्रकारका घुम्ती शिविरहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ, जसबाट राजधानी बाहिर रहेका थुप्रै नेपालीहरू लाभान्वित भएका थिए ।





