Home Login
नर्वे

४ भाइ इभेन्टद्वारा आयोजित ‘क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२५’ सम्पन्न

ओस्लो (नर्वे) — ४ भाइ इभेन्ट नर्वे द्वारा आयोजित ‘क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२५’ विशेष सांस्कृतिक कार्यक्रम नर्वेको राजधानी ओस्लोमा डिसेम्बर २२, २०२५ का दिन भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

नेपालबाट युरोप सांगीतिक यात्रामा आएका लोकप्रिय लोकगायक तथा सर्जक खेम सेन्चुरी ले कार्यक्रममा आफ्ना चर्चित गीतहरू पानको पात, ढले ढले, अरेली काडैले, सालैजो लगायत प्रस्तुत गर्दा दर्शकहरू उफ्रँदै नाच्न बाध्य भएका थिए । गीत–संगीतले कार्यक्रम स्थल पूरै गुञ्जायमान बनेको थियो ।

त्यसैगरी चर्चित मोडल तथा कलाकार ओबी रायमाझी ले लोकप्रिय गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भएका थिए ।

कलाकारहरू युरोप टुरअन्तर्गत फ्रान्सको कार्यक्रम सम्पन्न गरी नर्वे आउने क्रममा हवाई यात्रामा आएको गडबडीका कारण कार्यक्रम तोकिएको समयभन्दा केही ढिलो सुरु भएको थियो । तथापि, दर्शकहरूको उत्साहमा कुनै कमी देखिएन । कार्यक्रमको अन्त्यसम्म दर्शकहरूले नाच्दै–गाउँदै कलाकारहरूलाई निरन्तर साथ दिएका थिए ।

कार्यक्रमको सुरुवातमा नर्वेमै रहनु भएका स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा संगीत, नृत्य र सांस्कृतिक एकताले विशेष आकर्षण थपेको थियो ।

युरोप सांगीतिक यात्राअन्तर्गत कलाकार टोली कार्यक्रम सम्पन्न पश्चात् नर्वेबाट फिनल्याण्डको कार्यक्रमका लागि प्रस्थान गरिसकेको आयोजकले जनाएको छ ।

Leave a Reply