लिस्बन (पोर्चुगल) — नेपाली महिलाहरूको हकहित संरक्षण, सामाजिक एकता र सशक्तीकरणको मूल उद्देश्य बोकेर पोर्चुगलमा सक्रिय सामाजिक संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को पाँचौं अधिवेशन आइतबार लिस्बनमा भव्यताका साथ सम्पन्न भएको छ । प्रवासमा रहेका नेपाली महिलाहरूलाई एकताबद्ध बनाउँदै आएको यस संस्थाले अधिवेशन मार्फत आगामी कार्यकालका लागि नयाँ र जुझारु नेतृत्व समेत सर्वसम्मत रूपमा चयन गरेको छ ।
लिस्बनस्थित एभरेस्ट मम आन्जुसको सभाहलमा आयोजित उक्त विशेष समारोह नेपाली राजदूतावास लिस्बनका नियोग उप-प्रमुख शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाकी तत्कालीन अध्यक्ष शान्ति अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोर्चुगलमा क्रियाशील दुई दर्जनभन्दा बढी संघसंस्थाका अध्यक्ष, प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । विन्दु गौतमको स्वागत मन्तव्यबाट औपचारिक सुरुवात भएको कार्यक्रमको सञ्चालन कला पङ्गेनीले गरेकी थिइन् ।

अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि गिता रेउलेको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको घोषणा संस्थाकी पूर्व अध्यक्ष एवं पाँचौं अधिवेशन निर्वाचन समिति संयोजक माया खरेलले गरेकी थिइन् । सर्वसम्मत नेतृत्व चयन भएसँगै उपस्थित अग्रजहरूले संस्थाले प्रजातान्त्रिक अभ्यास र एकताको सन्देश दिएको भन्दै प्रशंसा गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी बिन्दु गौतम र कला पङ्गेनीलाई सुम्पिइएको छ । यसैगरी संस्थाको साङ्गठनिक विस्तारलाई प्रभावकारी बनाउन चार जना उपाध्यक्षहरू चयन गरिएको छ, जसमा दीपा लिम्बू, रेनु परियार, अप्सरा बर्तोला र मिरा कार्की रहेका छन् । संस्थाको दैनिक कार्य सञ्चालन र व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी अर्थात् महासचिव पदमा सरस्वती गौतम सर्वसम्मत भएकी छिन् ।

समितिलाई समावेशी र फराकिलो बनाउने क्रममा सचिव पदमा पाँच जनालाई जिम्मेवारी दिइएको छ । जसमा अनिता रिजाल, लक्ष्मी थापा, बिनु केसी, बिनु रोका र शोभा कार्की रहेका छन् । संस्थाको आर्थिक पाटोलाई पारदर्शी र चुस्त राख्नका लागि कोषाध्यक्षमा मन्जु अधिकारी र सह-कोषाध्यक्षमा सबिना मनाङ्थेन चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा दीपा खड्का, अनु गुरुङ, सुजता खत्री, अम्बिका सापकोटा, रितिका कुँवर, देबी लामिछाने, कुशुम गुरुङ, रोहिणी क्षेत्री, पुजा खड्का, निर्मला अर्याल र पुजा घिमिरे रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले पोर्चुगलमा नेपाली महिलाहरूले भोग्नुपरेका समस्या समाधानमा एसोशियसनले खेल्दै आएको भूमिकाको सह्राना गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष रेउले तथा सम्पूर्ण कार्यसमितिलाई उपस्थित अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा पोर्चुगलमा रहेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै क्रियाशील नेपाली पत्रकारहरूलाई विशेष सम्मान समेत गरिएको थियो ।







