पोर्चुगल — स्थापनाकालदेखि नै युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था मगर संघ पोर्चुगलद्वारा मगर जातिहरूको महान पर्व माघे सकरातीको अवसरमा यही आउँदो जनवरी १९ तारिख माघे संक्रान्ति विशेष विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ।
आयोजक मगर संघ पोर्चुगलद्वारा आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने भएको छ।
रोजगार र अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूको लागि मगरहरूको मौलिक पर्व मनाउनको लागि पोर्चुगलमा रहेका मगर तथा गैर-मगरहरूलाई मनोरञ्जन दिन तथा आफ्नो संस्कार र संस्कृति बचाउनको लागि उक्त कार्यक्रमको आयोजना गरेको मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनले बताए।
पोर्चुगलमा रहेका विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा उपस्थित हुनको लागि आयोजक मगर संघ पोर्चुगलले आग्रह समेत गरेको छ।
स्थापनाकालदेखि नै मगर संघ पोर्चुगलले थुप्रै सामाजिक कामहरू समेत गर्दै आइरहेको छ।