लाक्पा तेन्जी शेर्पा ।
रोमानिया २८ जुलाई — युरोपियन मुलुक रोमानियामा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका विविध कानुनी तथा कागजी समस्याको समाधानका लागि तत्काल नेपाली पक्षबाट प्रभावकारी पहल आवश्यक रहेको भन्दै रोमानियामा सक्रिय संघसंस्थाहरूले संयुक्त रुपमा नेपाली दूतावास बर्लिनका उपनियोग प्रमुख सागर फुयाललाई ज्ञापनपत्र बुझाएका छन् ।
रोमानियामा रहेका नेपाल तामाङ घेदुङ, शेर्पा किदुग, नेपाल किराँत समावेशी समाज,तमु समाज रोमानिया, नेपाल मगर संघ र कग्यु बुद्धिस्ट एसोसिएसनद्वारा बुझाएको ज्ञापनपत्रमा रोमानियामा स्थायी नेपाली दूतावासको अभावमा यहाँ कार्यरत नेपाली श्रमिक तथा बिद्यार्थीहरू विभिन्न प्रशासनिक र कानुनी समस्यामा परेको उल्लेख गरिएको छ । विशेषगरी श्रम सम्बन्धी सम्झौता, आवासीय अनुमति, कागजी प्रक्रियाहरू, स्वास्थ्य बीमा लगायतका विषयमा देखिएका समस्याहरू समाधानका लागि तत्कालीन रूपमा प्रतिनिधिमूलक पहलको आवश्यकता औंल्याइएको छ ।
यसै सन्दर्भमा रोमानियामा रहेका नेपाली संघसंस्थाहरूले संयुक्त रुपमा हाल कग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाका संयोजक तथा धर्मगुरु आचार्य लामा मिग्मा ड्राक्पो रेपा (जनक बहादुर तामाङ) लाई अवैतानिक बाणिज्य राजदूत (Honorary Consul / Trade Representative) को रूपमा प्रस्ताव गरेका छन् ।
संचारकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूले रोमानियामा रहेका नेपाली श्रमिकको जीवनस्तर, कार्यस्थलका चुनौती, कानुनी जटिलता लगायतका विषयमा उपनियोग प्रमुखको ध्यानाकर्षण गराएका छन् । उनीहरूले नेपाली श्रमिकको पक्षमा शीघ्र, प्रभावकारी र दिगो समाधानको लागि सरोकारवाला निकायसँग समन्वय गरी पहल गर्न आग्रह समेत गरेका छन् ।
रोमानियामा नेपाली समुदायको बढ्दो उपस्थिति र योगदानलाई ध्यानमा राख्दै दीर्घकालीन रूपमा स्थायी कूटनीतिक उपस्थिति वा प्रतिनिधित्व आवश्यक रहेको र त्यसका लागि अवैतानिक प्रतिनिधिको नियुक्ति एक महत्त्वपूर्ण कदम हुने जनाइएको छ ।