पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’का नायक कुलमान घिसिङ युरोपका विभिन्न देशहरूको भ्रमणमा आउने भएका छन् । मध्यपूर्वका केही देशको भ्रमण सकेर हाल अमेरिकामा रहेका घिसिङ अगस्ट महिनाको दोस्रो साता युरोप आइपुग्ने कार्यक्रम रहेको छ ।
प्राप्त जानकारी अनुसार, घिसिङको युरोप भ्रमण बेलायतबाट सुरु हुनेछ । उनले बेलायतको लन्डन र स्कटल्याण्डमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी भई त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।
बेलायतपछि घिसिङ बेल्जियम जाने कार्यक्रम तय भएको छ । बेल्जियममा पनि उनले प्रवासी नेपालीसँग भेटघाट तथा विविध कार्यक्रमहरूमा आफ्नो मन्तव्य राख्नेछन् ।
युरोप भ्रमणको अन्तिम गन्तव्यको रुपमा उनी पोर्चुगल आउने भएका छन् । पोर्चुगलमा पनि विभिन्न शहरमा कार्यक्रमहरू आयोजना हुने र त्यसलाई घिसिङले सम्बोधन गर्ने बताइएको छ । त्यस्तै उनको कार्यक्रम स्पेन र माल्टामा समेत तयारी भइसकेको बताएका छन् ।
उनको यो एक महिने लामो विदेश भ्रमण जुलाई २५ बाट सुरु भई अगस्ट २६ मा स्वदेश फिर्तीसँगै समापन हुनेछ । यस भ्रमणका क्रममा उनले मध्यपूर्व, अमेरिका र युरोपमा रहेका नेपाली डायस्पोरासँग नेपालको ऊर्जा क्षेत्रको विकास र सम्भावनाहरूका विषयमा छलफल तथा अन्तरक्रिया गरिरहेका छन् । हालै उनलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको थियो ।
घिसिङको युरोप भ्रमणलाई लिएर यहाँस्थित नेपाली समुदायमा उत्साह देखिएको छ । लोडसेडिङ अन्त्य गरी नेपाली जनजीवनमा उज्यालो ल्याउन खेलेको नेतृत्वदायी भूमिकाका कारण उनी विदेशमा बस्ने नेपालीहरूमाझ पनि अत्यन्तै लोकप्रिय छन् ।