पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले तीन वर्षपछि पुनः स्पेनको मैदानमा फुटबल खेल्ने भएका छन् ।
उनीसहितको अल–नासर टोलीले आगामी अगस्ट १० मा स्पेनको अलमेरियामा अलमेरिया एफसीसँग प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
साउदी क्लब अल–नासरले यति बेला क्लब विश्वकपको यात्रा गुमाए पनि व्यस्त गर्मीयाम बिताइरहेको छ । क्लबले हालै रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता गरेको छ । यस्तै, पोर्चुगिज स्टार जोआओ फेलिक्सलाई ४३.७ मिलियन (झन्डै ५८.७ मिलियन अमेरिकी डलर) को सम्झौतामा अनुबन्ध गरेको छ ।
अब अल–नासरले आफ्नो ध्यान युरोप भ्रमणमा केन्द्रित गरेका छन् । प्रशिक्षक जोर्गे जेससको टोली अस्ट्रिया, इङ्ग्ल्यान्ड र स्पेनको भ्रमण गर्दै २०२५–२६ सिजनको तयारी गर्दैछ, जुन अब तीन हप्तामै सुरु हुँदैछ ।
यही भ्रमणको अन्तिम खेलका रूपमा रोनाल्डोले स्पेनको अलमेरिया स्टेडियममा मैदान टेक्नेछन् । उनले यसअघि रियल मड्रिडको जर्सीमा खेल्दै अलमेरियाविरुद्ध चार खेलमा चार गोल गरेका थिए ।
४० वर्षीय रोनाल्डोले गत वर्ष अल–नासरको अलमेरियाविरुद्धको खेल गुमाएका थिए । उनले स्पेनमा अन्तिमपटक सन् २०२२ मा म्यानचेस्टर युनाइटेडबाट युरोपा लिगअन्तर्गत रियल सोसिडाडविरुद्ध खेलेका थिए ।
स्पेनभरिका समर्थकहरू रोनाल्डोलाई पुनः स्वागत गर्न आतुर छन् । रियलबाट उनले १६ उपाधि जितेका छन्, जसमा चार च्याम्पियन्स लिगसमेत छन् । उनी क्लब इतिहासका गोल कीर्तिमान कायम गर्ने खेलाडी पनि हुन् ।