पोर्चुगल (लिस्बन) — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले आज मङ्गलबार नेपाली राजदूतावास लिस्बनमा १२ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै दूतावासमार्फत उपलब्ध हुने कागजी सेवामा शुल्क न्यूनिकरण गर्न माग गरेको छ ।
संघका अध्यक्ष बम बहादुर जी.सी.को नेतृत्वमा गएको टोलीले महामहिम राजदूत प्रकाश मणि पौडेललाई बुझाएको उक्त ज्ञापनपत्रमा, हालका सेवा शुल्कहरू पोर्चुगलको आम्दानी स्तरको तुलनामा अत्यन्तै महँगा भएकाले तत्काल न्यूनतम १० युरोमा कायम गर्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्रमा दूतावास सेवामा टाढाबाट आउने सेवाग्राहीलाई प्राथमिकता दिनुपर्ने, ईमेल वा CTT जस्ता माध्यममार्फत रिमोट सेवा उपलब्ध गराउनुपर्ने, शुल्क भुक्तानी प्रणालीलाई अनिवार्य बैंकिङ माध्यममार्फत मात्र गर्ने व्यवस्था मिलाउनुपर्ने, र समुदायका समस्या समाधानका लागि नियमित कानुनी परामर्श तथा दूतावास–एनआरएनए सहकार्य आवश्यक रहेको उल्लेख छ ।
त्यसैगरी, शव व्यवस्थापन र स्वदेश पठाउने प्रक्रियामा दूतावासले अभिभावकीय भूमिका खेल्नुपर्ने, नेपाली भाषा, संस्कृति, चाडपर्व र पोशाकको संरक्षणमा नेतृत्व लिनुपर्ने, नेपाल–पोर्चुगल दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा नेपाल फेस्टिभल जस्ता बृहत् कार्यक्रम आयोजना गर्नुपर्ने लगायतका मागहरू पनि समावेश छन् ।
संघले प्रवासी नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न नेपाल सरकारसँग पहल गर्न दूतावासमार्फत आग्रह गर्दै, दूतावासबाट हुने सूचना नियमित प्रकाशन गर्नुपर्ने र गलत सूचना फैलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने सुझावसमेत दिएको छ ।
ज्ञापनपत्र बुझ्दै राजदूत पौडेलले नेपाली समुदायका सरोकार र गुनासा दूतावासको प्राथमिक जिम्मेवारी भएको भन्दै उठाइएका बुँदाहरूलाई गम्भीरतापूर्वक मनन गर्ने र सकेसम्म चाँडै नेपाल सरकारसँग समन्वय गरी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दूतावास सधैं प्रवासी नेपालीको हितमा खडा हुने र आवश्यक कागजी प्रक्रिया सरलीकरणतर्फ तत्काल ध्यान दिने आश्वासन दिनुभयो ।
त्यस्तै, दूतावासका मुख्य सचिव राम बाबु नेपालले पनि दूतावासले प्रदान गर्ने सेवा अझ प्रभावकारी, पारदर्शी र सबैका लागि सहज बनाउन निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले पोर्चुगलमा रहेका नेपालीहरूको सामूहिक हित र अधिकार सुरक्षित गर्न दूतावास पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै, समुदायसँग प्रत्यक्ष सम्पर्क र नियमित संवादलाई अझ मजबुत बनाउने आश्वासन दिनुभयो ।
संघका अध्यक्ष जी.सी.ले दूतावास र एनआरएनएले हातेमालो गर्दै एकताबद्ध रूपमा अघि बढे मात्र नेपाली समुदायका जटिल समस्या समाधान गर्न सकिने भन्दै सहकार्य र साझेदारीको ढोका खुला राख्नुपर्ने प्रस्ताव गर्नुभयो । उहाँले एनआरएनए पोर्चुगल सधैं समुदायको पक्षमा खडा भएको र दूतावाससँगको सहकार्यलाई अझ प्राविधिक र परिणाममुखी बनाउन तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
हेर्नुहोस, ज्ञापनपत्र :