Home Login
संघ-संस्था

मगर संघ साइप्रसको आयोजनामा ‘माघे संक्रान्ति सांस्कृतिक कार्यक्रम’ सम्पन्न

लिमासोल (साइप्रस) —  नेपाल मगर संघ युरोप शाखा साइप्रसको आयोजनामा ‘मगर माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम’ आइतबार (११ जनवरी २०२६) भव्यताका साथ सम्पन्न भएको छ । साइप्रसको दोस्रो ठूलो सहर लिमासोलस्थित नियो फिस्ता हलमा आयोजित उक्त कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ ।

प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त विशेष कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल मगर संघ साइप्रसकी संस्थापक तथा प्रमुख सल्लाहकार जसु पुन मगर प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् । त्यस्तै, साइप्रसका लागि नेपाली अनरेरी कन्सुलेटका प्रमुख डा. राम जीवन पञ्जियार, गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धातानन्द पाण्डे र महासचिव रेनुका थापा मगरको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ साइप्रसका युवराज तामाङ, किरात राई यायोक्खाका नबिन राई, किरात याक्थुङ चुम्लुङ साइप्रसका चुमन्ता लिम्बु, शेर्पा किदुग साइप्रसकी सोनी शेर्पा, तमु समाज साइप्रसकी आयुष्मा गुरुङ, चितवन सेवा समाजका पियुस लामा नेगी, सुदूरपश्चिमेली सेवा समाजकी रमिता चन्द रितु, हेल्पिङ ह्याण्डका नाङ्चु शेर्पा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

यसैगरी समाजसेवीहरू लिला आले मगर, लाल बहादुर बुढा मगर, गड ग्रेस टिमका ज्ञानेन्द्र चौलागाईं, गोर्खा रेष्टुरेन्टका ज्ञानु लामा लगायतको सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो ।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन युरोपमा ख्यातिप्राप्त अतिथि कलाकार (गायक तथा सर्जक) तुलसी सिवाकोटीको विशेष प्रस्तुति रहेको थियो । साथै, विभिन्न जातजातिको मौलिक झाँकी र नृत्यहरूले कार्यक्रमलाई थप रङ्गीन बनाएको थियो । सांस्कृतिक झलकहरूमा देहाय बमोजिमका प्रस्तुतिहरू समावेश थिए :

मौलिक मगर कौराह : लिमासोल र पाफोसका स्थानीय कलाकारहरू (जीवन राना मगर, कमल सिञ्जाली, दीपक मगर, चनिसा राना, दीपा सारु, शान्ति थापा लगायत) बाट मगर जातिको पहिचान झल्कने कौराह नृत्य प्रस्तुत गरिएको थियो ।

मेन्दोमाया नृत्य : नेपाल तामाङ घेदुङ साइप्रसको तर्फबाट सूर्यमाया मोक्तान, मुना मोक्तान, मनिष लोप्चन र प्रविना दोङले तामाङ समुदायको मौलिक मेन्दोमाया नृत्य प्रस्तुत गरे ।

शेर्पा सेब्रु नृत्य : शेर्पा किदुग साइप्रसका सोनी शेर्पा, फुर्वा याङ्जी, सोनाम छोटी, ङिमा ल्हामु र कान्डु शेर्पाले मौलिक सेब्रु नृत्य देखाए ।

साकेला : किरात राई यायोक्खाको तर्फबाट साकेला सिली (गीता कला नाछिरिङ, साङेन्मा बान्तवा, समर क्षेत्री) र किरात याक्थुङ चुम्लुङबाट मौलिक केःलाङ (च्याब्रुङ) नृत्य प्रस्तुत गरियो ।

चौधरी कल्चर : आरती महतो र उमा महतो लगायतको समूहले चौधरी समुदायको नृत्य प्रस्तुत गरे ।

यसबाहेक स्थानीय कलाकारहरू भूमि मगर, कौशिला मगर, अरुणा मगर, कुमारी मगर, पुष्पा मगर, विनिता मगर, गंगा गुरुङ, सितु गुरुङ, सुस्मिता मगर, सृष्टि मगर, अनिता राना मगर, ममता थलङ लिम्बु, अन्जना सिञ्जाली, टेक पुन, उमा तामाङ र सपना पुन मगरले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमको प्राविधिक पक्ष (डिजे) लक्ष्मी श्रेष्ठले सम्हालेकी थिइन् भने औपचारिक कार्यक्रमको सञ्चालन खम माया पुन मगर र सांस्कृतिक कार्यक्रमको सञ्चालन पुरन मगरले गरेका थिए ।

नेपाल मगर संघ युरोप शाखा साइप्रसका अध्यक्ष दर्शन मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, कलाकार, स्वयंसेवक, मिडिया पार्टनर (सेफनो टिभी, नागरिक बोली, न्युज लाइन्स नेपाल, युरो पाटी, साइप्रस नेपाल न्युज, साइप्रस खबर) तथा आर्थिक र भौतिक सहयोग गर्ने दाताहरूप्रति आभार व्यक्त गरे ।

अध्यक्ष मगरले भने, “यहाँहरूको अमूल्य साथ र सहयोगले यो कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको छ । काम गर्दै जाँदा भएका कमी–कमजोरीप्रति क्षमाप्रार्थी छु र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु ।” कार्यक्रम माघे संक्रान्तिको शुभकामना आदान–प्रदानसहित उल्लासपूर्ण वातावरणमा समापन भएको थियो ।

Leave a Reply