Home Login
राष्ट्रिय

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलको अध्यक्षमा नृपध्वज खत्री

पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) राष्ट्रिय समिति पोर्चुगलले कार्यकाल २०२५/२०२७ का लागि नयाँ कार्यसमिति पाएको छ । चर्चित नृत्य निर्देशक नृपध्वज खत्री “निरिप” को अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई इनासको ग्लोबल समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ ।

गत ६ अक्टोबर २०२५ मा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको यस कार्यसमितिको अनुमोदनका लागि युरोप क्षेत्रीय समिति मार्फत केन्द्रीय समितिमा अनुरोध गरिएको थियो । सोही अनुरोधलाई इनासको केन्द्रीय विधान र कार्य निर्देशनअनुसार ग्लोबल समितिले स्वीकार गर्दै नयाँ कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको हो ।

इनास ग्लोबल समितिका अध्यक्ष श्री रामचन्द्र थापाले एक पत्रमार्फत नवनिर्वाचित समितिलाई अनुमोदन गरिएको जानकारी गराउनुभएको हो । अध्यक्ष थापाले पोर्चुगलमा नेपाली कला, भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा नयाँ समितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ कार्यसमितिमा कला क्षेत्रका विभिन्न विधामा सक्रिय व्यक्तित्वहरूलाई समावेश गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा कलाकार तथा निर्माता कविता गेलाल, वरिष्ठ गायक तथा संगीतकार अर्जुन सोनाम र गायक तथा संगीतकार सन्तोष अधिकारी रहनुभएको छ । त्यसैगरी, चलचित्र निर्देशक तथा नृत्य निर्देशक हरि सिलवालले महासचिवको जिम्मेवारी सम्हाल्नुभएको छ भने सचिवमा नृत्य निर्देशक खडानन्द (अमर) आचार्य र साहित्यकार रेखा कार्की चयन हुनुभएको छ ।

समितिको आर्थिक जिम्मेवारी सम्हाल्न कोषाध्यक्षमा निर्देशक तथा कलाकार भुवन श्रेष्ठ सगुन र सह-कोषाध्यक्षमा कार्यक्रम निर्देशक अमृत मरहट्ठा नियुक्त हुनुभएको छ । समितिको आधिकारिक धारणा र गतिविधि सार्वजनिक गर्न प्रवक्ताको भूमिकामा व्यवसायी तथा छायाकार शम्भु सिलवाललाई चयन गरिएको छ भने कार्यक्रम संयोजकको जिम्मेवारी रबिन्द्र न्यौपानेले पाउनुभएको छ ।

त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा रेणु गुरुङ, सन्नी शाही, नरजङ्ग गुरुङ र रिया श्रेष्ठ रहनुभएको छ ।

यस कार्यसमितिलाई मार्गदर्शन गर्न र ग्लोबल समितिसँग समन्वय गर्नका लागि ग्लोबल समिति प्रतिनिधि (GCR) को रूपमा चलचित्र नृत्य निर्देशक सुनिल गिरीलाई तोकिएको छ । साथै, समितिलाई सल्लाह र सुझाव प्रदान गर्न समाजसेवी सज्जन हमाल ठकुरी, चलचित्र नृत्य निर्देशक पुनम राई र कलाकार तथा समाजसेवी नबिन तिम्सीना रहेको एक सल्लाहकार समिति पनि गठन गरिएको छ ।

ग्लोबल समितिले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । यो नयाँ कार्यसमितिको गठनसँगै पोर्चुगलमा नेपाली कला र संस्कृतिका गतिविधिहरूले थप गति लिने र प्रवासमा नेपाली पहिचानलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply