स्पेन — बेनिड्रोममा जेठ महिनामा भएको राहदानी घुम्ती शिविरमा बनेका राहदानी (पासपोर्ट) कोष्टाव्लाङ्कामा रहेका नेपालीले पाउने भएका छन् । नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सम्बन्धित व्यक्तिहरुबाट मञ्जुरीनामा पत्र र आवश्यक कागजात संकलन गरि एकैसाथ म्याड्रीड स्थित नेपाली राजदूतावासमा बुझाएको थियो ।
कार्यव्यस्तता र लामो दुरीको यात्रा गर्नुपर्ने भन्दै अधिकाँस नेपालीले बेनिड्रोमबाटै राहदानी वितरण गर्न माग गरेका थिए । एनआरएनए स्पेनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापा, समाजका संरक्षक तथा एनआरएनए स्पेनका पूर्व उपमहासचिव केशवराज कँडेल, नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव तथा कार्यवाहक महासचिव छेसाङ लोप्चन अशिमको टोलीले राहदानी संकलन गरि ल्याएको छ ।
संकलित राहदानी काल्पे, आल्तेया, मोराइराबाट सम्बन्धित व्यक्ति स्वयम् उपस्थित भएर लिन सक्नेछन् । समाजका संरक्षक केशवराज कँडेलले बनिसकेको राहदानी महिनौंसम्म लिन नपाएका नेपालीहरुलाई सहजताका लागि दूतावाससँग समन्वय गरि सबै प्रक्रिया पूरा गरि राहदानी संकलन गरिएको बताए ।
स्पेन स्थित नेपाली राजदूत सनिल नेपालले घुम्ति शिविर मार्फत बनाइएका राहदानी वितरण सहज होस् भनेर सम्बन्धित क्षेत्रका नेपाली संघसंस्थासँग समन्वय गरि वितरण गर्दै आएको बताए । सरकारले स्पेन सहितका ११ देशका राजदूतलाई आजै फिर्ता गर्ने निर्णय गरिसकेको छ । राजदूत सनिल नेपालले आफ्नो कार्यकालमा ठाउँ-ठाउँमा राहदानी घुम्ती शिविर गराएका थिए ।
एनआरएनए स्पेनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापाले राजदूतावास र नेपाली समुदायका संघसंस्था मिलेरै नेपालीहरुको पक्षमा राम्रा काम गर्न सकिएको बताए । नेपाल पत्रकार महासंघ शाखाका उपमाहासचिब तथा समाजका कार्यवाहक महासचिव छेसाङ लोप्चन अशिमले राहदानी संकलन गर्न समाज र एनआरएनएसँग समन्वय गर्न आग्रह गरे ।
