पोर्चुगल — कुनै समय आर्थिक सङ्कटसँग जुधिरहेको पोर्चुगल अहिले शान्तपूर्वक युरोजोनको सबैभन्दा बलियो अर्थतन्त्रको रूपमा उदाएको छ । प्रतिष्ठित पत्रिका ‘द इकोनोमिस्ट’ ले सार्वजनिक गरेको २०२५ को विश्वव्यापी अर्थतन्त्रको वरीयतामा पोर्चुगलले विश्वका ३६ धनी राष्ट्रहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको छ । यो सफलता विशेष गरी मुद्रास्फीति नियन्त्रण, कुल गार्हस्थ्य उत्पादन (GDP) मा वृद्धि, रोजगारी सिर्जना र शेयर बजारको तथ्याङ्क जस्ता चार प्रमुख मापदण्डहरूमा आधारित छ ।
यो दक्षिणपश्चिमी युरोपेली राष्ट्रको अर्थतन्त्रलाई अहिले “पस्टेल डे नाटा जत्तिकै मीठो” भन्दै प्रशंसा गरिएको छ, जुन पोर्चुगलको प्रसिद्ध कस्टर्ड पेस्ट्रीको उपमा हो । पोर्चुगिज अर्थतन्त्रको यो पुनरागमन लगानीकर्ताहरूका लागि पनि निकै सुखद रहेको छ, किनकि २०२५ मा त्यहाँको शेयर बजारमा २० प्रतिशतभन्दा बढीको उछाल देखिएको छ ।
वरीयता सूचीमा पोर्चुगललाई आयरल्याण्ड र इजरायलले पछ्याएका छन् । चाखलाग्दो कुरा के छ भने, गत वर्षको विजेता स्पेन यो वर्ष कोलम्बियासँगै चौथो स्थानमा पुगेको छ । यसका साथै चेक गणतन्त्र र ग्रीस पनि अग्रपंक्तिमा देखिन्छन् । ‘द इकोनोमिस्ट’ को रिपोर्ट अनुसार सन् २०१० को दशकमा गम्भीर आर्थिक कठिनाइ भोगेका ग्रीस र स्पेन जस्ता युरोजोनका सदस्यहरूले अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, जसले दक्षिणी युरोपमा तीव्र आर्थिक वृद्धिको व्यापक प्रवृत्तिलाई उजागर गरेको छ ।
यसको ठीक विपरीत, स्लोभाकिया, फिनल्याण्ड र इस्टोनिया जस्ता मध्य र पूर्वी युरोपेली देशहरू भने वरीयताको तल्लो स्थानमा सीमित भएका छन्, जसले ती क्षेत्रहरूमा आर्थिक सुस्तताको सङ्केत गर्दछ ।
पोर्चुगलको यो ऐतिहासिक उपलब्धिलाई त्यहाँका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सरकारको सुधारवादी नीतिको नतिजा बताएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भनेका छन् कि यो वरीयताले पछिल्ला महिनाहरूमा सरकारले लिएको बाटो सही थियो भन्ने पुष्टि गरेको छ र यसले थप सुधारका लागि प्रेरणा मिलेको छ । प्रधानमन्त्रीले देशलाई अझ प्रतिस्पर्धी र उत्पादक बनाउँदै रोजगारी सिर्जना गर्ने, ज्याला बढाउने र कल्याणकारी राज्यको अवधारणालाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।





