साइप्रस — प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले नेपाल मगर संघ यूरोप शाखा साइप्रसले यस वर्षको माघे सक्रान्ती (माघे) पर्व भव्यताका साथ मनाउने तयारी गरेको छ ।
मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको यो पर्वलाई उल्लासमय वातावरणमा सम्पन्न गर्न संघले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
माघे सक्रान्ती केवल एक चाड मात्र नभएर मगर समुदायको पहिचान, सामाजिक एकता र भाइचाराको प्रतीक हो । परदेशको व्यस्त जीवनशैलीका बाबजुद पनि आफ्नोपन र मौलिकतालाई जीवन्त राख्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान तथा विविध सांस्कृतिक झाँकीहरू मुख्य आकर्षणका रूपमा रहनेछन् । यस पर्वले आपसी सद्भाव, भाइचारा र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउँदै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूबीचको एकतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यस वर्षको माघे सक्रान्ती विशेष कार्यक्रमलाई थप रौनकता प्रदान गर्न नेपालका चर्चित लोक तथा आधुनिक गायक तुलसी शिवाकोटीको उपस्थिति रहनेछ ।
कार्यक्रममा गायक शिवाकोटीको बेजोड सांगीतिक प्रस्तुति रहनेछ भने उनलाई साइप्रसमै रहेका स्थानीय कलाकारहरूले पनि साथ दिनेछन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको संगमले कार्यक्रमलाई सांगीतिक र मनोरञ्जनात्मक बनाउने निश्चित छ ।
आगामी जनवरी ११ तारिखका दिन साइप्रसको सुन्दर सहर लिमासोल स्थित नियो फिस्ता हलमा यो भव्य कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुन चाहने दर्शक तथा शुभेच्छुकहरूको सहजताका लागि आयोजकले साइप्रसका विभिन्न सहरहरूबाट यातायात (बस) को समेत व्यवस्था गरेको छ । उक्त सांस्कृतिक कार्यक्रमको प्रवेश शुल्क २० युरो निर्धारण गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा साइप्रसमा रहेका मगर समुदायका साथै अन्य विभिन्न जातजाति, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा शुभेच्छुक महानुभावहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ । यस ऐतिहासिक पर्वलाई हर्षोल्लासका साथ मनाउन र आफ्ना मौलिक परम्परालाई निरन्तरता दिन आयोजक समितिले साइप्रसवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा समेत गरेको छ ।





