काठमाडौँ — सन् २०२५ मा नेपालमा साढे ११ लाख पर्यटकहरू नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यो आगमन सङ्ख्या अघिल्लो वर्ष सन् २०२४ को तुलनामा केही मात्रै हो । २०२४ मा ११ लाख ४७ हजार ५६७ आएका थिए । २०२५ को मुख्य सिजनमा नेपालमा जेनजी आन्दोलन भएको कारणले पनि गत वर्षको भन्दा आएको पर्यटकहरू खासै वृद्धि नभएको देखिन्छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको बाह्य पर्यटकीय क्षेत्रमा करिब एक महिना प्रभाव परेको थियो । यद्यपि कोभिड–१९ महामारीपूर्व (सन् २०१९) को तुलनामा ९७ प्रतिशतको हाराहारीमा रिकभरी हो ।
२०२५ मा सरकारले १६ लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको थियो । वर्षको अन्तिम महिना डिसेम्बरमा मात्र ९८ हजार १९० जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् ।
यो सङ्ख्या सन् २०२४ को सोही महिनाको तुलनामा ७ प्रतिशतले बढी हो । त्यस्तै सन् २०१९ को डिसेम्बर महिनाको तुलनामा ९७ प्रतिशतको पुनरुत्थान देखिएको छ, जसले अफ–सिजन मानिने जाडो महिनामा पनि पर्यटकको चासो नेपालतर्फ बढिरहेको देखाउँछ ।
कहाँबाट कति आए पर्यटक ?
पर्यटक आगमनको स्रोत मुलुकका आधारमा छिमेकी राष्ट्र भारत सबैभन्दा प्रमुख बजारका रूपमा देखिएको छ । सन् २०२५ मा नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४३८ जना भारतीय रहेका छन् ।
यसैगरी ९.७ प्रतिशत १ लाख १२ हजार ३१६ जना सहित संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा छ भने ८.२ प्रतिशत अर्थात ९५ हजार ४८० जना सहित चीन तेस्रो स्थानमा रहेको छ ।
नेपालको पर्यटनका लागि परम्परागत बजार मानिने संयुक्त अधिराज्य (यूके) बाट ५.१ प्रतिशत र अर्को छिमेकी मुलुक बङ्गलादेशबाट ५ प्रतिशत पर्यटक नेपाल आएका छन् ।
क्षेत्रीय वितरणका आधारमा दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ३५.२ प्रतिशत पर्यटक नेपाल आएका छन् ।
अन्य एसियाली मुलुकहरूको हिस्सा २१.९ प्रतिशत रहेको छ भने युरोपबाट १९.१ प्रतिशत पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसैगरी अमेरिकाबाट ११.७ प्रतिशत, ओशिनिया क्षेत्रबाट ४.६ प्रतिशत, मध्यपूर्वबाट १.८ प्रतिशत र अफ्रिकी मुलुकहरूबाट ०.४ प्रतिशत पर्यटकको आगमन भएको छ । बाँकी ५.५ प्रतिशत पर्यटक अन्य विभिन्न मुलुकहरूबाट आएका हुन् ।
पर्यटन क्षेत्रबाट सवा २७ अर्ब मुद्रा आर्जन
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनासम्ममा नेपालले पर्यटन क्षेत्रबाट २७ अर्ब १५ करोड २५ लाख ५० हजार रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ ।
पर्यटन क्षेत्रमा वैदेशिक लगानी पनि राम्रै देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिरसम्मको अवधिमा मात्र ४७६ वटा विभिन्न परियोजनामार्फत ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।





