Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए युरोप युवा संयोजकमा शिवसागर बुढाथोकीको उम्मेदवारी घोषणा

लिस्बन  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनको सरगर्मी बढ्दै जाँदा युरोप क्षेत्रमा युवा नेतृत्वका लागि सरगर्मी सुरु भएको छ । यसै सिलसिलामा एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष एवं सक्रिय अभियन्ता शिवसागर बुढाथोकीले आगामी कार्यकालका लागि युरोप क्षेत्रको युवा संयोजक पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आगामी १४–१६ मार्च २०२६ मा काठमाडौँमा आयोजना हुने ‘बृहत एकताको १२ औं महाधिवेशन’ बाट नयाँ नेतृत्व चयन हुने कार्यतालिका सार्वजनिक भएसँगै बुढाथोकीले आफ्ना स्पष्ट योजना र प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिने निर्णय गर्नुभएको हो ।

एनआरएनए पोर्चुगलको कार्यसमिति सदस्य र उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएका बुढाथोकीसँग संगठन सुदृढीकरण, समन्वय र समुदाय परिचालनमा गहिरो अनुभव रहेको छ । अन्तर्राष्ट्रिय महाधिवेशन तथा युरोप क्षेत्रीय सम्मेलनहरूमा निरन्तर प्रतिनिधिको रूपमा सहभागी हुँदै आउनुभएका उहाँले डायस्पोरामा रहेका नेपाली युवाहरूका समस्या र आवश्यकतालाई नजिकबाट बुझ्नुभएको छ । उहाँले विशेषगरी परदेशमा रहेका युवाहरूको आवाजलाई संस्थागत रूपमा मुखरित गर्न र उनीहरूलाई एनआरएनएको मूल धारमा ल्याउन आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ ।

बुढाथोकीको उम्मेदवारीसँगै सार्वजनिक गरिएको कार्ययोजनामा युरोपभरिका नेपाली युवाहरूलाई समेट्ने गरी व्यावसायिक, शैक्षिक र सामाजिक कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ ।

उहाँले युरोपका विभिन्न देशमा छरिएर रहेका नेपाली युवाहरूबीच एक सशक्त सञ्जाल निर्माण गरी आपसी सहकार्य र अनुभव आदानप्रदान गर्ने लक्ष्य राख्नुभएको छ । विशेषगरी विद्यार्थी र भर्खरै करियर सुरु गरेका युवाहरूका लागि रोजगार, अध्ययन र व्यवसायका क्षेत्रमा करियर मार्गदर्शन, सीप विकास तालिम तथा विभिन्न उपयोगी वेबिनारहरू सञ्चालन गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न बुढाथोकीले विशेष योजना अघि सार्नुभएको छ। जसमा नयाँ व्यवसाय सुरु गर्न चाहने युवाहरूका लागि कानुनी परामर्श, व्यावसायिक जानकारी र सफल उद्यमीहरूसँगको अन्तक्रिया कार्यक्रमहरू समावेश छन् ।

सामाजिक उत्तरदायित्वको पाटोलाई पनि उहाँले उत्तिकै महत्त्व दिनुभएको छ । युरोपमा विभिन्न समस्यामा परेका नेपाली युवाहरूलाई तत्काल सहयोग र परामर्श उपलब्ध गराउन एक प्रभावकारी संयन्त्र निर्माण गर्ने उहाँको योजना छ । साथै, युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्याप्रति सचेतना जगाउन, कुलत विरुद्ध अभियान चलाउन र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्न उहाँले विशेष जोड दिनुभएको छ ।

त्यसैगरी, सामाजिक सेवामा युवाहरूको ऊर्जा परिचालन गर्ने उद्देश्यले रक्तदान, राहत संकलन र प्राकृतिक विपत्तिका समयमा युवाहरूको सक्रिय सहभागिता बढाउने उहाँको संकल्प रहेको छ । खेलकुद र सांस्कृतिक कार्यक्रमका माध्यमबाट अन्तरदेशीय युवा सम्मेलनहरू आयोजना गरी नेपाली पहिचान र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने उहाँले बताउनुभएको छ । महिला तथा समावेशी सहभागितालाई मूल मन्त्र मान्दै सबै पृष्ठभूमिका युवाहरूलाई समान अवसर सुनिश्चित गर्ने उहाँको प्रतिवद्धता छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय संरचनामा युवाका मुद्दाहरूलाई नीतिगत तहमै पुर्‍याउन र निर्णय प्रक्रियामा युवाहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्न आफू सधैं क्रियाशील रहने उहाँको भनाइ छ । उम्मेदवारी घोषणाको यस घडीमा बुढाथोकीले युरोपभरिका सम्पूर्ण प्रतिनिधिहरू, अग्रज अभियन्ताहरू र शुभेच्छुकहरूमा सहयोग र समर्थनका लागि हार्दिक अपिल गर्नुभएको छ । युवाहरूको आवाज, भावना र अधिकारलाई संस्थागत रूपमा स्थापित गर्दै एक जिम्मेवार, सक्रिय र एकताबद्ध युवा नेतृत्व निर्माण गर्नु नै आफ्नो अन्तिम लक्ष्य रहेको उहाँले दोहोर्‍याउनुभएको छ ।

Leave a Reply